राजस्व संकलन ७९३ अर्ब हुँदा सरकारी खर्च १०९४ अर्ब


नेपाल समाचारपत्र, काठमाडौं
आर्थिक वर्ष २०७६÷७७ मा संघीय सरकारको कुल खर्च १०९४ अर्ब ३४ करोड रहेको छ । चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था वापतको खर्च क्रमशः ७८६ अर्ब ५३ करोड, १९१ अर्ब ७७ करोड र ११६ अर्ब ४ करोड रुपियाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ७९३ अर्ब ७८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ८७१ अर्ब ७८ करोड रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा अन्य प्राप्तिसमेत गरी संघीय सरकारले ८४१ अर्ब ३६ करोड रुपियाँ स्रोत परिचालन गरेको छ
आर्थिक वर्ष २०७६÷७७ मा सरकारले १९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको छ । यस अवधिमा सरकारले १६० अर्ब २४ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ४ दशमलव ३ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले १६२ अर्ब ५८ करोड बाह्य ऋण परिचालन गरेको छ ।
असार मसान्तमा सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ८०५ अर्ब ८३ करोड र आन्तरिक ऋण ६१३ अर्ब २१ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण १४ खर्ब १९ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७ दशमलव ७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३० दशमलव ३ प्रतिशत रहेको थियो । साथै २०७७ असार मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १४१ अर्ब १७ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।