गत आवमा व्यापार घाटा ११ खर्बमा सीमित


नेपाल समाचारपत्र, काठमाडौं
आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात शून्य दशमलव ६ प्रतिशतले वृद्धि भई ९७ अर्ब ७१ करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष यस्तो निर्यात १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ११ दशमलव ८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३ दशमलव ५ प्रतिशत र १८ दशमलव २ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, फलफूललगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, तयारी पोशाक, ऊनी गलैंचालगायतका वस्तुको निर्यात घटेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा कुल वस्तु आयात १५ दशमलव ६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात १३ दशमलव ९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९ दशमलव ९ प्रतिशत, ११ दशमलव ५ प्रतिशत र ५ दशमलव ३ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९ दशमलव ९ प्रतिशत, ११ दशमलव ५ प्रतिशत र ५ दशमलव ३ प्रतिशतले घटेको छ । तर, भारततर्फ ११ दशमलव ८ प्रतिशतले निर्यात वृद्धि हुँदा चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३ दशमलव ५ प्रतिशत र १८ दशमलव २ प्रतिशतले घटेको छ ।

निर्याततर्फ वीरगन्ज र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । समग्रमा आर्थिक वर्ष २०७६÷७७ मा कुल वस्तु व्यापार घाटा १६ दशमलव ८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो ।

व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९ दशमलव २ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ८ दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६ दशमलव ८ प्रतिशत रहेको थियो ।

उता, आर्थिक वर्ष २०७६÷७७ मा खुद सेवा आय १ अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय १५ अर्ब २३ करोडले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सेवा खाताअन्तर्गत भ्रमण आय १९ दशमलव २ प्रतिशतले कमी आई ६० अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय ७५ अर्ब ३७ करोड रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४० दशमलव ९ प्रतिशतले घटी ५३ अर्ब १४ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २५ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ८९ अर्ब ९१ करोड रहेकोमा शिक्षातर्फको व्यय ४६ अर्ब ३२ करोड रहेको थियो