वैदेशिक रोजगारीका व्यथामा बिरानो देश


तनहुँ, (नेस)
तनहुँका पत्रकार अमरराज नहर्कीको शब्द रचनामा बिरानो देश बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। ओएसआर डिजिटल, काठमाडौंमार्फत गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा स्वर तथा संगीत नवराज थापाको रहेको छ भने म्युजिक भिडियो समुन्द्र पौडेलले निर्देशन गरेका छन्। भिडियोमा सुदीप पौडेल र पूजा केसीले अभिनय गरेका छन् भने रमेश शर्माले छायांकन गरेका छन्। बेरोजगारीको समस्याका कारण वैदेशिक रोजगारीमा जान बाध्य युवाहरू जोखिमयुक्त काम गर्नुपर्दा बाकसमा फर्किनुपर्ने अवस्थाका गीतमा समेटिएको छ। स्थानीय, प्रदेश तथा संघीय सरकारले युवाका लागि स्वदेशमा रोजगार दिने शिक्षादीक्षा दिने वातावरण सिर्जना निर्धारण गर्न दबाब दिने तथा युवा पनि स्वदेशमै उद्यमशील बन्न उत्प्रेरित टेवा पुगोस् भन्ने उद्देश्यले गीतको म्युजिक भिडियो निर्माण गरिएको गीतकार नहर्कीले बताए। गीतले भन्छ–
हातको रुमाल मैलो भयो धोइदिने कोही छैन
बिरानो देशमा मै मरी गए रोइदिने कोही छैन
मरिहालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ
विदेशमा बसेको छु म परेर अलमल
निभेको छ मनको बत्ती छैन झलमल
कसको हुन्छ र परदेशमा आउनलाई मन
रुँदै–रुँदै आएको म कमाउनलाई धन
बूढा भाका, बा–आमाले हेर्छन् मेरै बाटो
शिर निहुराइ ढोग्ने मन छ म जन्मेको माटो
अर्ति दिने बूढापाका, खेली हिँड्ने साथी
बिर्सिदिनँ कहिल्यै पनि राख्छु शिरमाथि
नहर्की विभिन्न साहित्यिक प्रतियोगितामा सहभागी भई पुरस्कृतसमेत हुँदै आएका छन्। गत वर्ष २०६औं भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आयोजना गरेको खुला कवितामा प्रथम भएका नहर्की २०५५ सालमा आदिकवि भानुभक्त क्याम्पसले आयोजना गरेको कविता प्रतियोगितामा पनि प्रथम भएका थिए।