सुदुरपश्चिम प्रदेशको मौलिक लोकपर्व गौरा आरम्भ

कोरोना महामारीको सन्त्रासका कारण घरघरमै बिरुडा भिजाईयो



राम धामी,डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक चाड गौरा लोकपर्व आईतबारदेखि सुरु भएको छ । महिलाहरुले घर–घरमा बिरुडा भिजाएर पर्वको शुभारम्भ गरेका छन । यसपटक कोरोना भाइरसका कारण सार्बजनिक रुपमा गौरा नमनाउँन प्रशासनले आग्रह गरेको छ । स्थानीय पनि घरमै पूजापाठ गरी गौरा मनाउने योजनाब बुन्दै छन् ।

अघिल्ला बर्षहरुमा प्रदेशभर सामुहिक देउडा खेलको आयोजन हुन्थ्यो । प्रशासनको निषेधाज्ञाले यसपाली ती ठाउँ सुनसानझै छन् । भाद्र दुवाष्टमीका दिन मनाइने गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक लोकपर्व मानिन्छ । गौराको पहिलो दिन विरुडा पञ्चमी पर्दछ ।

यो दिन नारीहरु ब्रत बसेर गौरा घर वा पधेरामा बिरुडा (सानो केराउ, गहत, गुरास, गहूँ र मास मिसाएर बनाइएको पञ्चनाज) भिजाउछन् । दोस्रो दिन बिरुडा धुने गरिन्छ । बिरुडा धोएकै ठाउँमा गौरा (पार्वती) को प्रतिमा बनाएर पुजा गरिन्छ ।

बिरुडा भिजाएको तेस्रो दिन भित्री गौरा मनाइन्छ । गौराको ब्रत बस्ने सबै महिलाहरु गौरा घरमा भेला भएर बिरुडा पञ्चमीका दिन भिजाएको बिरुडाले गौरी र महेश्वरको प्रतिमालाई पुजा गर्छन । गौराको मुख्य दिन अष्टमीलाई मानिन्छ । उक्त दिनलाई अठेवाली पनि भन्ने गरिन्छ ।

अठेवालीको दिन महिलाहरु अठेवाली गाउँदै गौरा खेलाउने गर्छन् । ‘गौराको मुख्य दिन भनेको अठेवाली हो,’ सुदूरपश्चिमेली संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले भने,‘गौरा घर देखि नाच्दै अठेवाली गाउँदै मन्दिरसम्म पु-याएपछि गौरा विसर्जन गरिन्छ ।’
गौराको विसर्जनपछि फल फट्काइन्छ । त्यसपछि महिलाहरुले बिरुडाले आफन्तहरुको शीर तथा शरीरको पुजा गर्छन् ।

यो नारी प्रधान पर्व हो, गौरामा नारीले आफुभन्दा सानादेखि ठुला सबैको बिरुडाले पुजा गर्छन । कोरोना महामारीका कारण गौरा पर्व सामुहिक बनाउन रोक लगाइएकाले घरमै बिरुडा भिजाइएको हो । महामारीको सन्त्रासका कारण ग्रामीण क्षेत्रसमेत गौरामय बन्न नसकेको र कुनै चहलपहल नदेखिएको जिल्लाकै सिमान्त गाँउ परशुराम नगरपालिका–७ साँदनीका अगुवा आँशु भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्