पालिका प्रमुखसहित २९ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, नवलपरासी ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउंपालिका र जिल्ला अस्पतालमा गरी आईतबार एकै पटक २९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा गाउपालिका प्रमुख देखि जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत रहेका छन् । जिल्लामा एकै पटक २९ जनामा कोभिड संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले बताउनु भयो ।

पाल्हिनन्दनको ३ नं. वडामा पालिका प्रमुख सहित २० जनामा कोरोना संक्रमण देखिएको छ । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १ महिला स्वास्थ्यकर्मी सहित वडा नं. ४, ५ र ६ नम्वरका गरी अन्य ५ जनामा पनि संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलाई जिल्लाकै आईसोलेशनमा राख्ने तयारी भई रहेको छ ।

पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा कार्यरत ३ चिकित्सक सहित १ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
एक साता अघि संकलन गरिएको स्वावको नमूना प्रदेश स्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पछि अस्पतालको अत्यावश्यक बाहेक सवै सेवा वन्द रहेको छ । अस्पतालका स्वास्थ्यकर्मीबाट संकलित स्वावको परीक्षण कार्य ढिलो हुदा अस्पतालको सेवा करिव १ साता देखि प्रभावित हुदै आएको थियो ।

चिकित्सक र स्वास्थ्यकर्मीमै संक्रमण पुष्टि भए पछि त्यहा उपचाररत विरामी तथा अन्य कर्मचारीको पनि स्वाव संकलन गर्नु पर्ने स्थिती बनेको छ ।

सदरमुकाम परासी बजार क्षेत्र लगायत समुदायमा कोभिड १९को संक्रमण बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय नवलपरासीले साउन ३१ देखी जिल्लाभर निशेधाज्ञा जारि गरेको छ ।

संकास्पद भनि स्वाव संकलन गरिएकाहरुले स्वाव दिए पछि कोभिड १९ स्वास्थ्य प्रोटोकल अनुसार अलग्ग नवसी कतिपय मानिस समुदायमा निस्फिक्री घुमफिर गर्दा स्थिती भयावह बन्दै गएको स्थानीयहरु बताउनछन् ।