बनेपाको भैसेपाटी क्षेत्र सिल, एकै स्थानमा २५ संक्रमति, जिल्लामा १४०

282
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

शनिबार साँझ बनेपा नगरपालिका वडा नम्वर १३ भैसेपाटीमा रहेको स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विरामीहरुमा तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि उक्त क्षेत्रमा शिल गरिएको छ । भैसेपाटी क्षेत्रमा अस्पताल आसपासका सबै क्षेत्रमा शिल गरिएको वडा अध्यक्ष सुर्यनारायण नापितले जानकारी दिनु भएको छ ।

भैसेपाटी स्थित स्पाईनल इन्जुरी अस्पतालमा शनिबार एकै दिन २३ जना कर्मचारी र विरामीमा संक्रमण देखिएको थियो । यस अघि एक जना स्वास्थ्यकर्मी र एक जना कर्मचारीमा संक्रमण देखिए पछि ५९ जनाको स्वाव परिक्षण गरिएको थियो । विरामी र कर्मचारी गरी अस्पताल परिसरमा झण्डै २ सय भन्दा धेरै छन् । अझै १ सय ११ जनाको स्वाव परिक्षण गर्नु पर्ने अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले एक/एक साता कर्मचारीहरुलाई आलोपालो गरिरहेको छ । सोहि कारण आधा कर्मचारीहरु उक्त संक्रमणको जोखिम भन्दा तत्कालका लागि बाहिर रहेको अनुमान अस्पतालले गरेको छ । स्थानीयहरु समेत भएकाले उक्त क्षेत्रमा नियमित घरबाट आउने जाने भएकाले समुदायमै संक्रमण फैलन सक्ने भएकाले कडाईका साथ शिल गरी परिक्षण कार्यलाई तिब्र बनाईएको छ । यस अघि उक्त वडामा अन्य ब्यक्तिहरु संक्रमित भए भने संघीय प्रहरी कार्यालयमा कार्यरत १९ जना ब्यक्तिहरु संक्रमित भए ।

धुलिखेल अस्पतालमा शनिबार साँझ संक्रमण देखिएका १२ जनाको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान शुरु गरिएको छ । जस मध्ये धुलिखेल नगरपालिका वडा नम्वर ३, ६, ७, १०, पनौती नगरपािलका वडा नम्वर ५ र ९ लगायतका क्षेत्रमा उनिहरुको परिवार र अन्य ब्यक्तिहरुको सम्पर्क खोजि गरिएको छ । पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत तिमल्सिनाले संक्रमित ब्यक्तिहरुको नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको खोजी गरी परिक्षणको तयारी गरिएको तिमल्सिनाले जानकारी दिनु भयो । धुलिखेल नगरपालिका वडा नम्वर १० मा संक्रमण देखिएका ब्यक्ति अस्पतालको क्यान्टिनमा कार्यरत थिए । उनको गाउँमा पनि होटल थियो ।

होटलकै कारण धेरै ब्यक्तिहरु सम्पर्कमा रहेकाले तत्कालका लागि उक्त क्षेत्र शिल गरिएको अध्यक्ष पुष्पराज राउतले जानकारी दिनु भयो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्क्न, निस्कनै परे माक्स लगाएर मात्र निस्कन, भिडभाडमा नजान र सरसफाई तथा स्वास्थ्य सुरक्षामा ख्याल पुर्‍याउन अध्यक्ष राउतले अनुरोध गर्नु भएको छ ।

संक्रमितको संख्या थपिदै गए पछि धुलिखेल नगरपालिकाले एक हजार ब्यक्तिहरुको पिसिआर परिक्षण गराउने भएको छ । संक्रमितको सम्पर्कमा रहेका झण्डै एक हजार ब्यक्तिको परिक्षणको तयारी गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।

संक्रमितको संख्या थपिदै

जिल्लामा संक्रमितको संख्या १ सय ४० पुगेको छ । शनिबार एकै दिन ३५ जनामा संक्रमण देखिएको छ भने आईतबार पाँचखाल नगरपालिका वडा नम्वर ४ तामाघाट घर भएकी ३९ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको छ । अन्यत्र कार्य गर्ने महिलाका साथीहरुलाई कोरोना संक्रमण देखिए लगत्तै परिक्षणमा जानु भएको थियो । परिक्षणका क्रममा श्रीमानलाई संक्रमण नदेखिएको र महिलामा संक्रमण देखिएको थियो । उहाँलाई पाँचखाल नगरपालिकाको आईसोलेसनमा राखेर उपचार हुँदै छ ।

जिल्लामा सबै भन्दा धेरै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित देखिएका छन् । स्पाईनल इन्जुरीमा २५, धुलिखेल अस्पतालमा २६ र शिर मेमोरियल अस्पतालमा १ जना गरी ५२ जना ब्यक्ति अस्पतालमा संक्रमित देखिएका छन् । संघीय प्रहरी १९, जिल्ला प्रहरी ३, प्रहरी परिवार २ गरी २४ जना ब्यक्ति संक्रमित देखिएका छन् । धुलिखेलमा ९८ बर्षिय ब्यक्तिको निधन भएसँगै उहाँको परिवारमा १० जनामा संक्रमण देखिएको छ । बैदेशिक रोजगारबाट फर्किनेहरु २५ जना संक्रमित भएका छन् । अन्य सर्वसाधारण छन् । जनप्रतिनिधि र कानुन ब्यवसायी १/१ जना संक्रमित छन् ।