छोराको जीवन बचाइदिन बिन्ती


न्युज अफ नेपाल, काठमाडौं ।

तीनवर्षे बालकको ब्रेन–ट्युमर हटाउन साना–ठूला गरी १० पटक शल्यक्रिया गराएका बाबु श्रीधर कपालीआर्थिक रुपले स्रोत–साधनविहीन भएपछि सार्वजनिक रुपमा सहयोगको याचनागरिरहेका छन् ।

‘डेढ वर्षअघि छोरा उठेर दुई–तीन पाइला हिड्न खोज्थ्यो, तर लडिहाल्थ्यो,मनमा लागेन कि कहिले मेरो छोरा विरामी छ, यति ठूलो बिरामीकि, मैले थेग्नै नसक्ने गरी होला भनेर । हामीलाई लाग्थ्यो कि सबै बच्चाहरु यस्तै होलान्, तर त्यसो भएन, उसलाई ब्रेन–ट्युमर भएको रहेछ’ काठमाडौंस्थित कालिमाटी निवासी श्रीधरले आँखाभरि आँसु पार्दै न्युज अफ नेपाललाई बताए ।

कालिमाटी जस्तो व्यापारिक महत्वको ठाउँमा बसोवास भए पनि श्रीधर सामान्य परिवारका व्यक्ति हुन् । तर, छोराको उपचार गराउँदा उनी घरबार विहीनको अवस्थामा पुग्दैछन् ।

‘सम्पत्ति सिद्धिदो रहेछ, तर आँखामा आँसु र मनको माया कहिल्यै सकिंदो रहेनछ’ विरामी छोरा विशिष्ट कपालीका बाबुले आँसु पुछे, गला अवरुद्ध बनाए ।

डेढ वर्ष अघि बालक विशिष्ट हिड्ने अनि लड्ने भएपछि अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल लगेर जचाएँ, अस्पतालमा जँचाएपछि थाहा भयो– ‘उनलाई ब्रेन–टुयुुमर रहेछ,’  श्रीधरले बताए ।

 

‘थप उपचारको निमित्त ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरियो । मेडिसिटी अस्पतालमा पटक–पटक मेजर तथा माइनर शल्यक्रिया दश पटकभन्दा बढी गरियो । यहाँसम्म आइपुग्न हामीलाई निक्कै अप्ठ्यारो भयो । हामीसँग भएको रकमहरु सबै सकिएर पनि परिवारजन, आफन्तजन, इष्टमित्रको सहयोगबाट बच्चाको उपचारमा केही कमी आउन दिएका थिएनौं, तर अब कुनै स्रोत नै बाँकी रहेन ।’

‘छिमेकी मुलुक भारतको चेन्नइस्थित एपोलो प्रोटोन क्यान्सर अस्पतालमा हुने प्रोटोन विम थेरापीबाट थप उपचार गर्नु लाभदायी हुने डाक्टरको सल्लाह छ, हामीसँगअब केही बाँकी छैन, कहाँबाट ल्याउने खर्च, हामीलाई दाताचाहिएको छ, हामी सहयोगका लागि मनकारी संस्थाको खोजीमा छौं,’ श्रीधरले भने ।

उनले मनकारी दाताहरुले फेसबुकमा ‘श्रीधर कपाली’फलो गरिदिन विनीत अनुरोध गरेका छन् ।  #savelittlebishista