कोरोनाको उच्च जोखिममा कागेश्वर मनोहरा नगरपालिका

एउटै वडामा ३१ जना संक्रमित


नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं उपत्यकाभित्र पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै कागेश्वरी मनोहरा नगरपालिकाभित्र पनि कोरोनाको जोखिम उच्च बनेको छ । नगरपालिकाको वडा नम्बर ९ मा मात्र ३१ जना कोरोना संक्रमित देखिएपछि नगरपालिकाले धमाधम बस्ती सिल गर्ने कामलाई अगाडि बढाएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित खहरे–वीरेन्द्रचोक क्षेत्र पनि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं महानगरपालिका३२ को सीमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक (जगतजंग मार्ग) सम्म आउजाउ गर्न निषेध गरिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले कोरोना संक्रमित देखिएको बस्तीलाई सिल गरिएको बताउनुभयो । उहाँका अनुसार कागेश्वरी मनोहरामा अहिलेसम्म ७६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । वडा नम्बर ९ मा हालसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउँदै नगरप्रमुख थापाले संक्रमितको संख्या बढदै गएपछि नगरपालिकाभित्र कोरोना परीक्षण दायर पनि बढाइएको बताउनुभयो ।

नगरपालिकाको वडा नम्बर ६ मूलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण गर्दै आएको छ ।
भदौ ५ सम्म २ हजार ४ सय १४ जनाको पीसीआर १ हजार ३ सय ४४ जनाको आरडिटी परीक्षण गरिएको बताउँदै नगरप्रमुख थापाले १ हजार ६ सय ९१ पुरुष र ७ सय २२ महिलाको पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो । नगरपालिकाभित्र ७ सय ८४ पुरुष र ५ सय ६० महिलाको आरडिटी परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुष्टि भएको बस्तीमा थप संक्रमण फैलिन नदिनको लागि आज नगरप्रमुख थापासहित वडा अध्यक्ष, काँडाघारी प्रहरी प्रभागका प्रमुख, नगर प्रहरी र स्थानीयवासीको संयुक्त पहलमा खहरेचोकदेखि गान्धी स्कुल हुँदै बीरेन्द्रचोक (जगतजंग मार्ग) सम्मको बाटोमा प्रबेश निषेधको सूचना जारी गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा अधिकांश वडामा कोरोना संक्रमित देखिएका छन् । वडा नम्बर १ महिला २ जना र पुरूष २ जना, वडा नम्बर २ महिला छैन र पुरूष ३ जना, वडा नम्बर ३ महिला छैन र पुरूष १ जना, वडा नम्बर ४ पुरूष १ जना, वडा नम्बर ५ पुरूष २ जना, वडा नम्बर ६ महिला ३ जना र पुरूष ७ जना, वडा नम्बर ७ महिला ८ जना पुरूष ९ जना, वडा नम्बर ८ महिला २ जना पुरूष ५ जना, वडा नम्बर ९ महिला ६ जना पुरूष २५ जना गरी शुक्रबारसम्म ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।