आइसोलेसन तोडफोड गर्ने क्याम्पस प्रमुख पक्राउ


इन्द्र गिरी, संखुवासभा
संखुवासभाको हिमालय किरण क्याम्पस खाँदवारीमा कोरोना संक्रमितको उपचारकालागी बनाइएको आइसोलेसनको स्वास्थ्य सामग्री चोरी र तोडफोडको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले एक विज्ञप्ती प्रकाशित गदै जिल्ला अस्पताल खाँदवारीको किटानी उजुरीको आधारमा हिमालय किरण क्याम्पस प्रमुख डा. मातृकाप्रसाद तिम्सिनालाई अनुसन्धानकालागी आज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले क्याम्पस प्रमुख तिम्सिनालाई आईसोलेसन वार्डमा रहेका स्वास्थ्य सामाग्री तोडफोड र चोरी गरेको आरोप लगाउँदै पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताउनु भयो । पक्राउ परेका क्याम्पस प्रमुखमाथी आपराधिक उपद्रव मुद्दामा छानविन र अनुसन्धान भइरहेको र घटनामा अन्य संलग्नको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कोरोना महामारी संगै हिमालय किरण क्याम्पसमा ५ महिना अगाडी १० बेडको आईसोलेसन वार्ड तयार गरिएको थियो । अहिले ३ जना कोरोना संक्रमित विरामी ल्याउदै गर्दा आईसोलेसनमा रहेका बेड तोडफोड र स्वास्थ्य सामाग्री सहित करिव १५ लाख बराबरको चोरी भएको जिल्ला अस्पताल मेसु सुन्दरश्याम झाले बताउनु भयो ।
आईसोलेसन तोडफोड भएकाले तत्काल पुन स्वास्थ्य सामाग्री ल्याई ३ जना कोरोना सक्रमितको हिमालय किरण क्याम्पसमा रहेको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आईसोलेसन वार्डमा रहेका कार्डियाक मनिटर, सक्सन मेसिन, अक्सिजन पाईप, पिपि सेट, डिभाईडर, प्यासेट मनिटर लगत स्वास्थ्य सामाग्री विहिवार साझ तोडफोड र चोरी भएको जिल्ला अस्पतालले जनाएको छ ।