तानसेन चिनाउन श्रीनगरमा बोर्ड


कविराज नेपाल, पाल्पा
हुनत पाल्पा जिल्ला सदरमुकाम तानसेनलाई ऐतिहासिक, पुरातात्विक र पर्यटकीय नगरका रुपमा वर्षाैंदेखि चिनिदै आएको छ यसलाई थप परिचय दिइराख्नु पर्दैन तर अव पाल्पा जिल्ला सदरमुकाम तानसेन टाढैबाट चिनिने भएको छ ।
पाल्पा घुम्न आएका पर्यटकहरु अथवा जो कोहीले पनि टाढैबाट बोर्ड देखेर तानसेन कहाँ पर्छ भन्ने अव सजिलै पत्ता लगाउन सक्ने भएका छन ।
तानसेनको परिचयलाई अझ व्यापक वनाउन र पर्यटकका लागि लक्षित गरेर तानसेनको शिर अर्थात श्रीनगरमा अंग्रेजी अक्षरमा ठूलो आकारमा तानसेन लेखिएको वोर्ड हालेै ठड्याइएको छ । जसले यहा प्रवेश गर्ने अथवा गर्न चाहनेलाई सजिलो वनाइ दिनेछ । यहा आउने जो कोही र खासगरी पर्यटकलाई नै लक्षित गरेर तानसेन नगरपालिकाले यो वोर्डको निर्माण गरेको हो किनकी ठूलो अक्षरमा लेखिएको र प्राविधिक रुपमा वत्ति जडान गरेर रातिमा पनि देख्न सकिने वनाइने हुनाले यो टाढैबाट पनि देख्न सकिने छ।
पछिल्लो समय श्रीनगरको बीच भागमा लेखिएको तानसेन बोर्डले धैरेको ध्यान खिच्न थालेको छ र यो पछि गएर तानसेनको परिचयमा एक सुनौलो आयाम वन्ने अपेक्षा पनि गरिदैछ ।
वोर्ड राखेपछि सिद्धार्थ राजमार्गमा यात्रा गरिरहेका पर्यटकले तानसेन चिन्न र आउन सजिलो हुने वताइएको छ भने नजिकैबाट त यो प्रष्ट देखिन्छ नै । तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले तानसेनको विकासको मुख्य बाटो नै पर्यटन भएकाले यसको निर्माणबाट थप महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
अग्रेजी अक्षरमा लेखिएको यो वोर्ड फलामबाट वनेको छ । तानसेन लेखिएको धातु मात्र १६ हजार ३ सय १२ किलोग्राम रहेको छ । तानसेन बोर्ड अड्याउने स्ट्रक्चरको तौल करिव ५६ हजार किलोग्राम रहेको छ । हरेक अक्षर ८ मिटरका अग्ला छन् भने जहाँ ६ वटा अक्षर रहेका छन् । एक र अर्को अक्षरको बीचमा ८० सेन्टिमिटर दूरी रहेको छ । नजिकैबाट हेर्दा तानसेन बोर्डको जगमा ९ मिटरका ६ वटा पिलर र ८ मिटरको सहयोगी ६ वटा पिलर खडा गरिएको छ । जहाँ ४७.५ मिटरका ६ वटा विममाथि बोर्ड राखिएको छ । मुख्य पिलर लम्बाई चौडाइ र उचाइ ६ फिटको रहेको छ भने सहयोगी पिलर ४ फुटको रहेको वोर्ड निर्माण समितीका अध्यक्ष करुणा काफ्लेले वताउनु भयो ।
यो वोर्ड वनाउन पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयले गत आर्थिक वर्ष २०७६÷०७७ मा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत ५० लाख विनियोजन गर्नुभएको थियो । जसमा हालसम्म करिव २८ लाख खर्च भैसकेको र भुइ ढलान, पर्खाल रंगरोगन, आर्कर्षक विजुली वत्ति, अगाडिका सल्ला हटाउने लगायतका काम भने बाँकी नै छन । पछि यसमा सोलारबाट हेलोजिन लाइट बालेर दिउसो र राती पनि टाढैबाट तानसेन देख्ने सिस्टम हुने वताइएको छ ।
यसले पर्यटकलाई आकर्षित गर्ने तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । यो प्राविधिक रुपले ढुंगाको चट्टान खोजेर त्यसमाथि जग उठाएकाले बलियो रहेको उहाँको भनाई छ ।
पछिल्लो समयमा तानसेन नगरपालिकाले पर्यटकलाई लक्षित गरि विभिन्न पूर्वाधारका कार्यहरु गरिरहेको छ तानसेनको सडकमा मार्वल विच्छ्याउने, वर्तुङ्ग क्षेत्रमा पार्क वनाउने लगायतका कार्य भैरहेको नगरपालिकाले जनाएको छ ।