पुनर्निर्माण र पुनस्र्थापनाबारे राष्ट्रिय परिसंवाद हुँदै


नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवम् सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । सो परिसंवाद भदौ ८ गतेदेखि ११ गतेसम्म भर्चुअल माध्यमबाट हुने भएको हो ।
नेपालको पुनर्निर्माण तथा पुनस्र्थापनामा संलग्न विभिन्न निकाय एवम् साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिलाई एउटै मञ्चमा ल्याएर पुनर्निर्माण तथा पुनस्र्थापनाका क्रममा प्राप्त सफलता, उपलब्धि एवम् कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको प्राधिकरणका कार्यकारी समिति सदस्य एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।
सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो । डा. श्रेष्ठका अनुसार यो परिसंवादमा पुनर्निर्माण र पुनस्र्थापनाका ६ वटा विषयगत क्षेत्र क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवम् सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवम् सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्र प्रस्तुत हुनेछन् ।
प्राधिकरणका सहप्रवक्ता एवम् अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका सदस्य–सचिव मनोहर घिमिरेका अनुसार परिसंवादमा प्राधिकरणलगायत सरकारी निकाय प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरू, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधिलगायत सहभागी हुनेछन् । कार्यक्रममा इच्छुकले दर्ता प्रक्रियामार्फत् कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । त्यसका लागि सचिवालयको इमेल ठेगानामार्फत् सम्पर्क गर्नुपर्नेछ ।आयोजक समितिको सचिवालयका अनुसार कार्यक्रममा औपचारिक र प्राविधिक गरी दुई सत्र हुनेछन् । सोमबार ९ः३० मा उद्घाटन हुने कार्यक्रममा हरेक दिन ४ वटा प्राविधिक सत्र हुनेछन् । हरेक प्राविधिक सत्र ९० मिनेटको हुनेछ जसमा ४ वटा शोधपत्रहरु पेश हुनेछन् । सा“झ ४ः३० सम्म कार्यक्रम चल्नेछ ।