गाउँपालिकाविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन


नेपाल समाचारपत्र, बैतडी
बैतडीको पञ्चेश्वर गाउँपालिकाविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाइएको छ । गाउँपालिकाले सूचना माग गर्दासमेत उपलब्ध नगराएको भन्दै नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका समितिले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको हो ।
जिल्ला प्रशासन कार्यालयमार्फत सूचनाको माग गर्दै गाउँपालिकाविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पठाइएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले जानकारी दिनुभयो ।
गत साउन ११ गते २१ बुँदे मागसहित गाउँपालिकामा निवेदन दर्ता गराएर सूचनाको माग गरिएको भए पनि सूचना प्राप्त नभएकाले जिल्ला प्रशासन कार्यालय र हुलाकमार्फत राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका सभापति रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीले गाउँपालिकासंग सूचनाको हक प्रयोग गरेर सूचना मागेका थियौं । गाउँपालिकाले सूचना उपलब्ध नगराएपछि राष्ट्रिय सूचना आयोग गुहारेका हौं ।’
७ दिनभित्र सूचना दिनुपर्ने भन्दै समितिले साउन ११ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको थियो । गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहलाई विपक्षी बनाएर राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाइएको हो । कांग्रेसले विभिन्न शीर्षकमा गरेको खर्चका विषयमा गाउँपालिकासंग सूचना माग गरेको थियो । सूचनाको हकसम्बन्धी ऐन प्रयोग गरेर सूचना माग्दासमेत सूचना नपाइएकाले आयोगमा पुनरावेदन दिइएको भण्डारीले जनाउनुभयो ।
लकडाउनका बेला वितरण गरेको राहतको विवरण, पञ्चेश्वर गाउँपालिकाद्वारा निर्माण गरिएका विभिन्न सडकको खर्च विवरण माग गरिएको छ ।
यस्तै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको खर्चको विवरण, भ्रमण भत्ताका लागि छुट्याएको बजेटलगायतका विवरण माग गरी २१ बँुदे ज्ञापनपत्र बुझाएको छ ।