विश्व बैंकलाई थप लगानी गर्न आग्रह


नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकबाट स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गर्नुभएको छ । विश्व बंैकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टबिग सेफरसँगको छलफलका क्रममा अर्थमन्त्री खतिवडाले सो कुरा बताउनुभएको हो ।
कोरोनाले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको तथा थप पार्न सक्ने प्रभाव, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा नेपालले हालसम्म चालेका कदम तथा विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाका बारेमा उहाँहरूबीच भिडियो कन्फ्रेन्स भएको थियो ।

त्यस क्रममा अर्थमन्त्रीले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यावसायिक निरन्तरता एवम् रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सोको लागि आवश्यक स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको थियो ।

कोभिडका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकाले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरू सकारात्मक रहेको उहा“ले उल्लेख गर्नुभयो । प्रतिकूलताका बाबजुत मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १ दशमलव ६ अर्बभन्दा बढी रहेको, सरकारको सञ्चित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको अर्थमन्त्रीको भनाइ थियो ।

विषम् परिस्थितिमा पनि विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनामा प्रगति राम्रो रहेको र नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्विपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वित्तीय दबाबका बाबजुत नेपालले विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैंकबीच समूहबीच लामो समयदेखि रहेको न्यानो सम्बन्धलाई जीवन्त राखिएको अर्थमन्त्रीकले बताउनु भयो ।

स्वास्थ्य र आर्थिक पुनरुत्थानसंँगै लैजानुपर्नेमा जोड दि“दै उहा“ले नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेटरी सहायताले समेत सघाउ पु¥याएको र नीतिगत सुधारमा समेत विश्व वैंकको अनुभव र ज्ञान लाभदायी भएको जानकारी गराउनुभयो। विश्व बैंकसँग हालै सम्झौता भएको रणनीतिक सडक आयोजना हालसम्मकै ठूलो एकल आयोजना रहेको र गत वर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना सम्झौता भई करिब १ अर्ब डलर थप प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीले बताउनुभयो।

छलफलमा विश्व बैंकका उपाध्यक्ष सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्वनिर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एसियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिनुभयो । उहाँले नेपाल जस्ता कम विकसित मुलुकले सामना गरिरहेको आर्थिक स्रोतका अभाव परिपूर्ति गर्न हालको स्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा ब्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सक्रियतामा विभिन्न दाता सदस्य राष्ट्रसँग पहल गरिरहेको र सो अभियानमा सहयोगको लागि समेत अनुरोध गर्नुभयो। दुवै पक्षबाट तयारी पूरा भएका थप चार आयोजना बोर्डमा निर्धारित मितिमै पेश गर्ने गरी तयारी भइरहेको तथा प्रारम्भिक तयारीमा रहेका अन्य आयोजना पनि अगाडि बढाउन विश्व बैंक तयार रहेको बताउनुभयो।