सशर्त अन्तर्राष्ट्रिय उडान हुने


नेपाल समाचारपत्र, काठमाडौं
सरकारले शर्तसहित भदौ १६ गतेपछि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तयारी गरेको छ । तत्कालका लगि पीसीआर परीक्षण नियमित हुँदै आएका देशमा उडान गर्ने सरकारले तयारी गरेको हो ।
करिब छ महिनादेखि स्थगित रहेको हवाई क्षेत्रलाई स्वास्थ्य मापदण्ड पालना गराउँदै सुचारु गरउनुपर्ने माग उठिरहेकाले सरकारले यस्तो निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय उडानका निम्ति नेपाली नागरिक र कूटनीतिक नियोगका कर्मचारीले यात्रा गर्न पाउने छन् । जसको ७२ घण्टाभित्र पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ । यद्यपि, कुवेत, साउदी अरबलगायतका खाडीमुलुक जस्ता पीसीआर परीक्षणका लागि सहज नभएका देशबाट भने यात्रु ल्याउन रोक लगाइको छ । तर, दूतावासको सिफारिसमा चाटर्ड उडान भने गर्न पाउने छन् ।

नेपाल आइसकेपछि यात्री कम्तीमा एक साता होटल क्वारेन्टिनमा बस्नुपर्ने र पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरू गन्तव्यमा जान पाउने जनाइएको छ । होटल संघले आफू मातहत रहेका २ हजार कोठालाई दैनिक १८ सय रुपियाँदेखि ९ हजार रुपिया“सम्मको दररेटमा क्वारेन्टिनका लागि उपलब्ध गराउन सहमति जनाइसकेको छ ।