टर्कीलाई हालसम्मकै सबैभन्दा ठूलो ग्यास भण्डार प्राप्त


अंकारा, (एजेन्सी)

टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले काल सागरमा हालसम्मकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार फेला परेको घोषणा गरेका छन्। टर्कीले यसको उपयोग सन् २०२३ सम्ममा गर्ने जनाएको छ।

इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा अर्दोगानले टर्कीको फतेह नामक ड्रिलिङ जहाजले ३ सय २० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास भण्डार टुना १ नामक कुवामा पत्ता लगाएको जानकारी दिएका हुन्। यो टर्कीको इतिहासमा सबैभन्दा ठूलो प्राकृतिक ग्यासको खोज भएको उनले बताए। साथै, उक्त इलाकामा नयाँग्यास भण्डारको खोज हुने बताएका छन्।

अर्दोगानले भने– ‘हाम्रो लक्ष्य काल सागरबाट ग्यास निकालेर सन् २०२३ सम्म यसको प्रयोग गर्ने हो।’
साथै, पूर्वी भूमध्य सागरबाट पनि खुसीको खबर अपेक्षा गरिरहेको उल्लेख गर्दै त्यहाँपनि टर्कीले ग्यासको खोजी गरिरहेको जानकारी उनले दिए।

उनले भने– ‘हालसम्म भूमध्य सागर र काल सागरमा फतेह र याबुज जहाजका माध्यमबाट नवौंपटक गहिरो खाडल खन्ने काम शुरू भएको छ। हामी आफ्नो देशको ऊर्जा मुद्दा पूर्णरूपमा हल गर्नका लागि दृढ संकल्पित छौं।’
टर्कीका अर्थ मन्त्री बेरात अलबायराकले फतेह जहाजबाट भिडियो कन्फेरेन्सका माध्यमबाट त्यसको नजिक आवश्यक ग्यासको पर्याप्त भण्डार हुने र त्यसले नयाँयुग आउने उनले बताए।

उक्त खोजपछि टर्की प्राकृतिक ग्यासका लागि रूस, इरान र अजरबैजानमा निर्भर रहनु नपर्ने बताइएको छ। टर्कीलाई यो सफलता गहिरो पानीमा नवौंपटक खन्ने क्रममा प्राप्त भएको ऊर्जा मन्त्री फतेह दोनमेजले जानकारी दिए। उक्त ग्यासको भण्डार समुद्रभित्र २ हजार १ सय मिटर तल प्राप्त भएको उनले जानकारी दिएका छन्। यद्यपि, यो अभियान समाप्त नभएको र खन्ने कार्य जारी राख्ने र समुद्रभित्र १ हजार ४ सय मिटरभित्र सम्म पुग्ने उनले जानकारी दिए।

नयाँग्यास भण्डारले देशको अर्थव्यवस्था वर्तमान चुनौतीहरूबाट माथि उठ्न मद्दत मिल्ने अर्थ मन्त्री बेरातले बताए। पूर्वी भूमध्य सागरमा ग्यास खोज्ने क्रममा टर्की र ग्रीसबीच तनावको स्थिति रहेको छ। अमेरिकी भूगर्भीय सर्वेका अनुसार उक्त क्षेत्रको लेवन्ट बेसिनमा ३ सय ५० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास र १ अर्ब ७० अर्ब ब्यारेल तेल भण्डार रहेको अनुमान छ।