साउनमा ५३ लाखको सामान बरामद


भद्रपुर, (नेस)
भारतबाट ल्याउँदै गरेको ५३ लाख ९ हजार ५ सय मूल्य बराबरको अवैध सामान साउन महिनामा झापा प्रहरीले बरामद गरेको छ । कोरोना भाइरसको महामारीका कारण भारतसँगको सीमा बन्द गरिए पनि कारोबारीले भारतबाट लुकाई–छिपाई अवैधरूपमा सामान ल्याउने क्रमबाट तस्करी बढेको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयले निकालेको तथ्याङ्कअनुसार साउन महिनामा लत्ताकपडा १० लाख ९१ हजार ८ खसय ७०, किराना सामान २३ लाख २ हजार ६०, विद्युतीय सामान २ लाख ९ हजार ५ सय, सवारी पाटपूर्जा १ लाख ६३ हजार र अन्य सामान ३८ लाख २१ हजार ९ सय रुपियाँ बराबरको बरामद भएको हो । सबै सामान भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

त्यसै गरी नेपालबाट भारततर्फ लैजाँदै गरेको ९ वटा चौपाया प्रहरीले पक्राउ गरेको छ । दुईवटा गाई र ७ बाछाबाछी रहेका छन् । चौपायामध्ये गाईलाई गौशाला र तस्करसहित गोरुलाई मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ । भारतसँगको सीमा बन्द गरिए पनि तस्करी रोकिएको छैन । सीमामा सुरक्षाकर्मी खटाइए पनि अवैध ओसार–पसार जारी रहेको छ ।