बुटवल कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितको मृत्यु

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा उपचाररत प्युठानका कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको कोरोना विशेष अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी गराउनु भयो । डा. थापाका अनुसार भदौ १ गते अस्पतालमा भर्ना भएका गौतमको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार बिहान मृत्यु भएको हो ।

भारतबाट रोजगारी गरेर फर्किनुभएका गौतम घर फर्केपछि स्वर्गद्वारी नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नुभएको थियो । स्वाबको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेकामा ज्वरो, खोकी र स्वाशप्रस्वासमा समस्या देखिएपछि उहांलाई बुटवल कोरोना अस्पताल ल्याइएको थियो ।

अस्पतालका अनुसार मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेका मृतक गौतममा उपचारकै क्रममा निमोनिया पनि देखिएको थियो । यो संगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।