राहतका लागि भण्डारण गरिएको ३३ हजार किलो अखाद्य दाल नष्ट

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

संक्रामक रोग कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि सरकारबाट लकडाउन गरिएको समयमा दैनिक रोजीरोटी गरिखाने विपन्न मजदुरलाई राहत बितरण गर्न भन्दै भण्डारण गरिएका कीरा लागेको तथा सडेका दाल बरामद गरी नष्ट गरिएको छ ।

राहत वितरणका लागि कलैयाका विभिन्न वडामा राखिएका तथा दाल खरिद गरी कोल्ड स्टोरेजमा भण्डारण गरिएका करिब ३३ हजार किलो अरहरको दाल नष्ट गरिएको हो ।

चैत २९ गते र बैशाख ८ गते कलैया उपमहानगरपालिका वडा–७ स्थित यादब आइस एण्ड कोल्ड स्टोरेजबाट बरामद गरी सिल गरिएका प्रतिबोरा २५ किलो भएको ३ सय ८० बोरा, प्रतिबोरा ५० किलो भएको ४ सय ५० बोरा गरी ८ सय ३० बोरा अखाद्य अरहरको दाल नष्ट गरिएको छ ।

फागुन २८ गते कलैया–२० वडा कार्यालयबाट राहत बितरणका लागि खरिद गरी बसतपुर प्रहरी चौकीको प्रांगणमा राखिएको अखाद्य अरहरको दाल २५ बोरामा ४ सय २५ किलो र बैशाख १ गते कलैया–११ स्थित नेरा प्रावि घोघलरियामा सिल गरिएका ११ बोरामा ४ सय २५ किलो अखाद्य अरहरको दाल पनि नष्ट गरिएको प्रहरीले जनाएको छ ।

कलैया–१४ को बघवन टोलस्थित पसाहा खोलाको पश्चिम किनारमा जलाएर पुनः माटोले पुरी नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाराको रोहवरमा प्रहरीले ती दालमध्ये परीक्षणका लागि नमूना निकाली सिलबन्दी गरिएकोमा परीक्षणपश्चात् अरहरको दाल अखाद्य प्रमाणित भएकोमा सिलबन्दी गरिएको अखाद्य दाल सार्वजनिकस्थलमा वातावरण प्रदुषण नहुने गरी खाडल खनी जलाउने र पुनः माटोले पुरेर नष्ट गर्न जिल्ला प्रशासन कार्यालयबाट बैशाख १२ गते निर्देशन भएको थियो ।