मल लिन दशगजामा नेपालीको लर्काे 


नेपाल समाचारपत्र, भद्रपुर
यतिबेला झापामा रासायनिक मलको अभाव भएको छ । नेपाली बजारमा रासायनिक मल युरिया नपाएपछि भारतीय मल किन्न किसान र व्यापारी सीमासम्म पुग्ने गरेका छन् । भारतसँग सीमा जोडिएका एक दर्जनभन्दा बढी नाकामा मल किन्न साइकल र मोटरसाइकलको ताँती हुने गरेको छ ।

दशगजामा मल पर्याप्त छ, त्यही मलले जिल्लाका किसानले आफ्नो समस्या धानिरहेका छन् भने व्यापारीको कमाइ पनि राम्रो छ । लसुनगन्ज , सालमारा हुँदै दशगजाबाट भारतीय मल ल्याउने क्रम बढेको छ । त्यसैगरी केचना नाकामा पनि उत्तिकै भीड बढेको छ ।

दिनमा ४ सयदेखि ५ सय जनासम्म मल लिन पुग्ने गरेको स्थानीयको भनाइ छ । सजिलो र सहज बाटो भएकाले जिल्लाका अधिकांश त्यही भएर जाने गरेका छन् । भारतीय व्यापारीले मल दशगजासम्म नेपाली व्यापारीलाई ल्याइदिने गरेका छन् । जुन मल स्थानीय नेपाली व्यापारीले किसान र अन्य खुद्रा व्यापारीलाई बिक्री गर्छन् । लसुनगन्ज र सालमारामा नेपाली व्यापारीसँग ठूलो मात्रामा मल स्टक राखिएको छ ।

कोरोनाको महामारीका कारण नेपाल–भारत सीमामा कडाई गरिए पनि मल आपूर्तिमा कुनै रोकतोक नभएको अर्का स्थानीयले बताए । उनका अनुसार रातको समय पारेर भारतीय व्यापारीले दशगजासम्म मल ल्याइदिने गरेका छन् । दशगजामा युरिया प्रतिबोरा साढे ११ सय रुपियाँ पर्ने गरेको छ । जुन मल नेपाली व्यापारीले बाहिर लगेर प्रतिबोरा दुई हजार रुपियाँका दरले बेच्ने गरेका छन् । भारतमा भने त्यस मलको मूल्य प्रतिबोरा चार सय भारु पर्ने गरेको छ ।

मल हाल्न नपाएर किसानको धानबाली बिग्रिन लागेकाले सीमाबाट भारतीय मल ल्याउनका लागि त्यति कडाइ नगरिएको प्रहरीको भनाइ छ । मल ल्याउने जिम्मेवारी पाएका कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले मल आपूर्ति गर्न सकिरहेका छैनन् ।

त्यही भएर जिल्लाका किसानले अवैध र महँगो भए पनि भारतीय मल प्रयोग गर्नु परिरहेको हो । सरकारले किसानलाई मल दिन सकेको भए कोरोना महामारीकाबीच भारतीय सीमा जानुपर्ने बाध्यता नपर्ने स्थानीय भरत उरावले बताउनुभयो ।

किसानको आवश्यकता पूर्तिका लागि एकजना बराबर एक बोरा मल लान दिएको प्रहरीको भनाइ छ । झापा गाउँपालिकाले मल लिन जाने व्यक्तिलाई वडा कार्यालयले स्थानीय कृषक हो भनेर प्रमाणित गरिदिएको सिफारिसका आधारमा सुरक्षाकर्मीले मल ल्याउन दिएको स्थानीय बताउँछन् ।