बजारमा तीनवटा आईपीओबीच प्रतिस्पर्धा


नेपाल समाचारपत्र, काठमाडौं
कोरोना कहरका कारण देशका विभिन्न भागमा लागू गरिएको निषेधाज्ञाका बीच शेयर बजारमा तीन वटा कम्पनीको आईपीओ खुलेका छन् । जलविद्युत्, बीमा र लघुवित्त कम्पनीले आफ्नो पुँजी वृद्धिका लागि आईपीओ जारी गरेका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उतारचढाव भइरहेको तथा कोभिड–१९ ले देशको अर्थतन्त्रमा धक्का दिइरहेका बेला एकैपटक तीनवटा कम्पनीले आईपीओमार्फत् लगानी बढाउन खोजेका हुन् । आईपीओ जारी गरेकामध्ये लिवर्टी हाइड्रोपावरको आईपीओ बुधबार र रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्त कम्पनीको आईपीओ बिहीबारदेखि खुलेको हो ।

लिवर्टी हाइड्रोपावर कम्पनीको दुई दिनमा माग भएकोमध्ये करिब ६० प्रतिशत शेयर खरिदका लागि आवेदन परेको बताइएको छ । कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात ३७ करोड ५० लाख रुपियाँबराबरको ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाको लागि निष्काशन गरी बिक्री नभएको १३ लाख १५ हजार कित्तासमेत थप गरी आईपीओ सर्वसाधारणमा बिक्रीमा ल्याएको हो।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम् १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गतेसम्म आवेदन खुल्नेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार बिहीबारसम्ममा कम्पनीको आइपीओमा ५२ हजार ९८८ जना आवेदकबाट २० लाख ५७ हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

जलविद्युत् कम्पनीको शेयर मूल्यमा भारी गिरावट जलविद्युत कम्पनीप्रति लगानीकर्ता आकर्षित हुन सकिरहेका छैनन् । तर, दुई दिनमा नै करिब ६० प्रतिशत आईपीओ बिक्री हुनुलाई सकारात्मक रूपमा लिन सकिन्छ ।

त्यस्तै बिहिबारमात्रै आईपीओ खुलेको समाज लघुवित्तको पहिलो दिनमा नै मागभन्दा करिब १७ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ५३ हजार आवेदकबाट १३ लाख ३३ हजार कित्ता शेयरको लागि आवेदन परेको छ। कम्पनीले ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेकोमध्ये हजार कित्ता कर्मचारीका लागि र ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको ८० हजार कित्ताका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि बढीमा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ ।

यसैगरी बिहीबार नै आईपीओ खुलेको रिलायन्स लाइफ इन्स्योरेन्सको पहिलो दिन करिब ५० प्रतिशत आईपीओ बिक्री भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका जानकारी अनुसार ५५ हजार आवेदकबाट २७ लाख ३० हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।

कम्पनीले बिक्रीमा राखेको ६३ लाख कित्ता शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएपछि बा“की रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री खुलाएको हो । कम्पनीको आईपीओमा भदौ ८ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि बढीमा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

शेयर कारोबारका लागि भर्खर अनलाइन प्रणालीमा प्रवेश गर्दै गरेका लगानीकर्तालाई बिहीबार मेरो शेयर प्रणालीमार्फत् शेयर खरिदका लागि आवेदन दिँदा समस्या भएको छ । एकैपटक तीनवटा कम्पनीको आईपीओमा आवेदन दिन लगानीकर्ताको चाप बढेपछि ‘मेरो शेयर’को सर्भरमा समस्या आएको थियो । जसका कारण इच्छुक सबै लगानीकर्ताले बिहीबार आवेदन दिन पाएनन् ।

 नेप्सेमा सामान्य सुधार
साताको अन्तिम कारोबार एवम् निषेधाज्ञा लागू भएको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भने सामान्य वृद्धि भएको छ । अन्य दिनभन्दा न्यून कारोबार भए पनि यस दिन नेप्से परिसूचक ६ दशमलव २८ अंकले बढेर १३९७ दशमलव ५७ बिन्दुमा पुगेको छ ।

कुल १८२ कम्पनीको १२ लाख १४ हजार कित्ता शेयर ३९ करोड ३१ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोेबारमा आएका समूमध्ये दुई वटाबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक बढेको छ ।

साथै सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर निष्काशनको तयारी गरेकाले यस कम्पनी प्रति लगानीकर्ता आकर्षित भएका हुन् । त्यसबाहेक सिभिल लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीका लगानीकर्ताले पनि अन्य कम्पनीका लगानीकर्ताभन्दा प्रतिशतका आधारमा बढी कमाएका छन् ।

तर, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा गुमाएका छन् । बिहीबार कारोबार रकमका आधारमा नेको इन्स्योरेन्स अगाडि छ। सो कम्पनीको मात्रै यस दिन ३ करोड २ लाख रुपिया“को शेयर कारोबार भएको छ भने नागरिक लगानी कोष र नेपाल पुनर्बीमा कम्पनीको २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।