भिडियोमा झण्डा जलाउनेलाई राज्यविरुद्ध कसुर मुद्दा


हेटौंडा, (नेस)।
राष्ट्रिय झण्डा जलाइएको दृश्यसहित गीत र त्यसमाथि म्युजिक भिडियो बनाउने समूहलाई प्रहरीले राज्यविरुद्ध कसूर गरेको मुद्दा लगाएको छ।
झण्डा जलाउने समूहलाई राज्यविरुद्ध कसूर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको हो। गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो। बुधबार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट सान्तबहादुर योञ्जनलाई नियन्त्रणमा लिएपछि पक्राउ संख्या १० पुगेको हो।
समूहले मकवानपुरमा सुटिङ गरेको म्युजिक भिडियोमा जातियताका विषय उठाउँदै घृणा फैलाउने अश्लील गाली गरिएको छ। मुलुकी अपराधसंहिता, २०७४ अनुसार सरकारको कामकारबाहीबारे घृणा, द्वेष फैलाएका वा अपहेलना गरे÷गराए ३ वर्ष कैद र ३० हजार जरिवाना हुन्छ। ऐनमा कसैले सार्वभौमिक अखण्डता, वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक वा साम्प्रदायिक दंगा भड्काउने काम गरे ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यबस्था छ।
राष्ट्रिय झण्डा जलाएर जातीय गाली गर्दै मकवानपुरमा छायांकन भएको भिडियो युट्युबबाट हटेको छ। युट्युबले सामाजिक सद्भाव विथोल्ने भाषा (हेटस्पिच)सम्बन्धी नीति उल्लंघनका कारण भिडियो हटाएको जनाएको छ। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–३, सल्लेनीमा छायांकन गरिएको भिडियोमा राष्ट्रिय झण्डा जलाउँदै एक समूदायलाई ‘शरणार्थी’ भन्दै गाली गरिएको थियो। सोमबार युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा कमेन्ट गर्दै अधिकांशले भिडियो अभिव्यक्तिको विरोध गरेका थिए । उनीहरुले सामाजिक सद्भाव नबिगार्न भन्दै कडा शव्दमा प्रतिक्रिया जनाएका छन्।