दुई दर्जन बढी घर पहिरोको उच्च जोखिममा


सरिता चलाउने, सल्यान
अविरल वर्षापछि आएको पहिरोले सल्यानको छत्रेश्वरी गाउँपालिकामा वितण्डा मच्चाएको छ । पहिरोमा चामी गाउँका झन्डै एक दर्जन घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय महोलाल खत्रीका दुई घर, बलबहादुर खत्रीका दुई घर, नवीन केसी, त्रिभान खत्री, तुलसीराम डाँगीका घर पहिरोको जोखिममा रहेका हुन् ।

पहिरोले ठूलो मात्रामा मकैबाली बगाएको छ भने घरभित्र रहेका अन्नबाली पुरिएको पीडित नवीन केसी बताउनुहुन्छ । पानी नरोकिएर अझै धरै क्षति हुने उहाँको भनाइ छ ।

यस्तै वडा नं २ मा पनि एक दर्जन घर जोखिममा परेका छन् । वडा नं २ का टीकाराम बस्नेतको घर भत्किएको वडाध्यक्ष प्रेम खड्काले बताउनुभयो ।

दहखोलाले टोपबहादुर डाँगी, कृतिबहादुर बस्नेत, प्रेम केसी, लक्ष्मण केसी, अम्मरसिंह विक, टीकाराम खड्कालगायतको घर पहिरोको जोखिममा रहेको खड्काले बताउनुभयो ।

यस्तै चामी गाउँसँगै जोडिएको रोल्पा गंगादेव गाउँपालिका–३ का टीकाराम खत्री र करण खत्रीका चार घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमौचार र प्रहरी चौकी पातिहाल्नको प्रहरी टोली पुगी उद्धार कार्यमा जुटेको छ । जोखिममा रहेका घरहरूको मानिस र सरसामान अन्यत्र स्थानान्तरण गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि आएको पहिरोले सल्यानको छत्रेश्वरी गाउँपालिका–१ चामीमा २ जना घाइते भएका छन् । गएराति आएको पहिरोमा परी ३० वर्षीया कमला केसी र उहाँका ८ वर्षीय छोरा समीर केसी घाइते भएका हुन् ।

घाइते आमाको बागचौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ भने छोराको थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छत्रेश्वरी गाउँपालिका–१ का वडासदस्य प्रकाश हमालले जानकारी दिनुभयो ।