कोरोना क्वारेन्टिन : कतै स्वस्फूर्त, कतै छिमेकीको अवरोध

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–९ मा जनस्तरबाट १५ बेडको क्वारेन्टिन सञ्चालन भइरहँदा मकवानपुरमा प्रहरीका लागि क्वारेन्टिन स्थापना गर्ने क्रममा भने छिमेकीले अस्वीकार गरेका छन् ।

यसले गर्दा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा २४ सै घण्टा ड्युटीमा खटिने प्रहरीलाई क्वारेन्टिन अभाव भएको छ । मकवानपुरमा २० जना भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

दिनानुदिन प्रहरीमा संक्रमण बढेपछि मकवानपुर प्रहरीलाई क्वारेन्टिनका लागि आबश्यक रहेको स्थान खोजी भएको थियो । प्रहरीको आग्रहअनुसार कमाण्ड पोष्ट बैठकमा छलफल भएबमोजिम हेटौंडा–२ मा रहेको पल्पसा सभागृहलाई क्वारेन्टिन बनाउन खोज्दा स्थानीयले गुनासो गरेपछि उक्त स्थानमा क्वारेन्टाइन बनाउन नसकिएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको उक्त सभाहलमा क्वारेन्टाइन बनाउने प्रयत्न गर्दा स्थानीयले गुनासो गरेपछि आफूहरुले उक्त काम गर्न नसकेको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो–अन्य अबस्थाभन्दा हाल प्रहरीको मुख्य ड्युटी कोरोनाबाट स्थानीयलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा छ । यस्तो बेलामा घरकाट फर्किएका प्रहरीलाई क्वारेन्टाइन अभाव भएको जानकारीपछि पल्पसालाई क्वारेन्टाइन बनाउन सकिन्छ कि भनेर प्रयास गरियो । तर, छिमेकीको गुनासोपछि अन्यत्र राख्ने निर्णय गरियो ।

स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बस्ने व्यबस्थाका लागि अनुरोध भयो । तर, मिलाउन गाहो भएको छ । ‘यही तरिकाले हामी सबैले कोरोनाबाट उन्मुक्ति पाउन मुस्किल छ । समय अप्ठेरो छ, यस्तो बेलामा जुटेर परिस्थितिको सामना गरौं । बेलैमा हामी सबै सच्चिनुका साथै मानवीयता प्रस्तुत गरौं,’ उहाँले भन्नुभयो ।

हेटौंडा–९ मा भने जनस्तरबाट १५ बेडको क्वारेन्टाइन सञ्चालन भएको छ । वडा कार्यालयको व्यबस्थापनमा सञ्चालित क्वारेन्टाइन विभिन्न व्यक्ति एवम् संघसंस्थाको सहयोगद्वारा सञ्चालनमा रहेको हो ।

वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले वडाको व्यबस्थापन र विभिन्न व्यक्ति एवम् संघसंथाको सहयोगमा क्वारेन्टाइन सञ्चालित रहेको बताउनुभयो । अध्यक्ष भण्डारीले वडामा बाहिरबाट आउने नागरिकको संख्या बढ्दै गएको र संक्रमण फैलने जोखिम बढ्ने महसुस गरेर बाहिरबाट आउने वडाभित्रका नागरिकलाई राख्न वडामै क्वारेन्टाइन सञ्चालन गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरबाट क्वारेन्टाइन निर्माणका सामग्री प्राप्त भएपछि क्वारेन्टाइन सुरु गरिएको हो । ‘जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको सहयोगमा जिससबाट आन्तरिक व्यबस्थापनका सामग्री प्राप्त गर्‍यौँ । बाँकी विभिन्न व्यक्ति एवम् संघसंस्थाबाट सहयोग भएको छ,’ उहाँले भन्नुभयो ।

दिव्यज्योति प्राथमिक विद्यालयमा क्वारेन्टाइन सञ्चालनमा छ । विद्यालयबाट क्वारेन्टाइन हटाउने सरकारी निर्णयअनुसार अन्यत्र व्यबस्थापन गर्ने तयारी भएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा हालसम्म करिब ५० जनाले सेवा लिइसकेका छन् ।