मल लिन दशगजामा नेपालीको भिड


न्युज अफ नेपाल, भद्रपुर ।

झापामा यतिवेला रासायनिक मलको अभाव भएको छ ।

नेपाली बजारमा रासायनिक मल युरिया नपाएपछि भारतीय मल लिन किसान र व्यापारी सीमासम्म पुग्ने गरेका छन् । भारतसँग सीमा जोडिएका एक दर्जनभन्दा बढी नाकमा मल लिन साइकल र मोटरसाइकलको ताँती छ । दशगजामा मल पर्याप्त छ । त्यही मलले जिल्लाका किसानहरुले आफ्नो समस्या धानिरहेका छन् भने व्यापारीहरुको कमाइ पनि राम्रो छ । झापा गाउँपालिकाको लसुनगञ्ज , सालमारा हुँदै दशगजाबाट भारतीय मल ल्याउने क्रम बढेको छ ।

त्यसैगरी केचना नाकामा पनि उत्तिकै भिड बढेको छ । दिनमा ४ सयदेखि ५ सयजनासम्म मल लिन पुग्ने गरेको झापा गाउँपालिकाका एक स्थानीयले बताउँनुभयो । सजिलो र सहज बाटो भएकाले जिल्लाका अधिकांश त्यही भएर जाने गरेको उहाँले जानकारी दिनुभयो । भारतीय व्यापारीहरुले मल दशगजासम्म नेपाली व्यापारीहरुलाई ल्याइदिने गरेका छन् । जुन मल स्थानीय नेपाली व्यापारीहरुले किसान र अन्य खुद्रा व्यापारीहरुलाई बिक्री गर्छन् । लसुनगञ्ज र सालमारामा नेपाली व्यापारीहरुसँग ठूलो मात्रामा मल स्टक राखिएको छ । कोरोना भाइरसको महामारीका कारण नेपाल भारत सीमामा कडाई गर्ने गरिएपनि मल आपूर्तिमा कुनै रोकटोक नभएको अर्का स्थानीयले बताउँनुभयो । उहाँका अनुसार रातको समय पारेर भारतीय व्यापारीहरुले दशगजासम्म मल ल्याइदिने गरेका छन् । दशगजामा युरिया प्रतिबोरा साढे ११ सय रुपैयाँ पर्ने गरेको छ । जुन मल नेपाली व्यापारीहरुले बाहिर लगेर प्रतिबोरा दुइहजार रुपैयाँका दरले बेच्ने गरेका छन् । भारतमा भने त्यस मलको मूल्य प्रतिबोरा चार सय भारु पर्ने गरेको छ ।

मल हाल्न नपाएर किसानहरुको धानबाली बिग्रिन लागेकाले सीमाबाट भारतीय मल ल्याउनका लागि त्यति कडाई नगरिएको प्रहरीको भनाइ छ । मल ल्याउने जिम्मेवारी पाएका कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले मल आपूर्ति गर्न सकिरहेका छैनन् । त्यही भएर जिल्लाका किसानहरुले अवैध र महँगो भएपनि भारतीय मल प्रयोग गर्नु परिरहेको हो । सरकारले किसानलाई मल दिन सकेको भए कोरोना महामारीकाबीच भारतीय सीमा जानु पर्ने आबश्यकता नपर्ने भरत उरावले बताउँनुभयो । किसानको आबश्यकता पूर्तिका लागि एकजना बराबर एक बोरा मल लान दिएको प्रहरीको भनाइ छ । झापा गाउँपालिकाले मल लिन जाने ब्यक्तिलाई वडा कार्यालयहरुले स्थानीय कृषक हो भनेर प्रमाणित गरिदिने सिफारिसका आधारमा सुरक्षाकर्मीहरुले मल ल्याउन दिएको स्थानीय बताउँछन् । व्यापारीहरुले एउटै सिफारिसलाई फोटोकपि गरेर दिनहुँ मल ल्याउने गरेको घटना समेत रहेको नाम नखुलाउने शर्तमा एक स्थानीयले बताउँनुभयो ।