खोटाङबाट आयो साप्सुको छल्को


खोटाङ, (नेस)। जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आप्नो पहिलो गीत सर्वाजनिक गरेका छन्। उनले हालै मात्र रेकर्ड भई भिडियोसहित सार्वजानिक भएको साप्सुको छल्को वोलको गीत सार्वजनिक गरेका हुन्।

दर्जनौं गायन प्रतियोगितामा निर्णायकको मन जित्दाजित्दै दोश्रो, तेश्रो तथा सहभागितामै चित्त वुझाउँदै आएका राईका लागि यो पहिलो गीत साईतको थुंगा हुने शुभचिन्तकको विश्वास छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मिएका गायक प्रदिप जिल्लामा आयोजित सांगीतिक कार्यक्रममा धेरैले रुचाउने गायकमा पर्छन्।

सानै उमेरदेखि नारायणगोपाल, भक्तराज आचार्यजस्ता सांगीतिक हस्ताक्षरहरुले गाएका गीतमा गला चलाउँदै आएका राईलाई यस गीतमा दश वर्षीया भतिजी वर्षा राईले साथ दिएकी छिन्। वर्षा पनि नेपाली गायनमा स्थापित हुने कला र गला बोकेकी सम्भावना हुन्।

सहोदर दाई स्वर्णिम सुदिप र एस पल्लवको शब्द रचना रहेको गीतमा आप्नै जन्मभूमि खोटाङको विभिन्न पर्यटकीयस्थलको वर्णन गरिएको छ। गायक तथा संगीतकार जनम थुलुङको संगीत रहेको गीतको संयोजन राजु कार्कीले गरेका छन्।

लोकआधुनिक विधामा आधारित गीतमा माया पिरतीको भाव झल्किने शब्द प्रयोग गरिएको छ। प्रवेश राईको निर्देशनमा निर्माण गरिएको यो गीतको म्युजिक भिडियो गायक तथा सगीतकार थुलुङको व्यक्तिगत युट्युब च्यानल जनम थुलुङमार्फत सार्वजनिक गरिएको छ।

किरात राई सांस्कृतिक कलाकार संघ ललितपुरले आयोजना गर्दै आएको यलम्बर संगीत प्रतियोगिताको पछिल्लो संस्करणमा सेकेण्ड रनर्सअप भएका प्रदिपले अन्य विभिन्न प्रतियोगितामा समेत आप्mनो गायकीलाई गहकिलो रुपले प्रस्तुत गर्दै आएका छन्।