मकवानपुरमा कोरोनाबाट एकैदिन दुईको मृत्यु, अन्त्यष्टिपछि कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा स्थायी घर भएका कोरोना संक्रमणका बुधबार दुई जनाको मृत्यु भएको छ । हेटौंडा–१ का एक बृद्धपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ की कोरोना संक्रमित महिलाको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले बताउनुभयो ।

करिब तीन महिनादेखि कलेजोको क्यान्सरबाट पीडित भएर चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएकी हेटौंडा–१९, सान्नान्टारकी ६२ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

मृत्युअघि निकालिएको स्वाब परीक्षण नतिजा पोजिटिभ आएको जानकारी मेडिकल कलेजले दिएको वडाध्यक्ष नवराज सुबेदीले बताउनुभयो । मंगलबार विहान ७ बजेतिर मृत्यु भएकी उनको दिउँसो परम्पराअनुसार सद्गद् गरिएको थियो । शवको सद्गद्पछि बुधबार विहानमात्र मेडिकल कलेजले स्वाब परीक्षणमा कोरोना भेटिएको जानकारी गराएपछि स्थानीयमा त्रास फैलिएको वडाध्यक्ष सुबेदीले बताउनुभयो । तर, आबश्यक सचेतता र पूर्णसुरक्षा सतर्कताबारे वडा कार्यालयले मृतकको गाउँटोलमा सहजीकरण गरेको अध्यक्ष सुबेदीको भनाइ छ ।

हेटौंडाका एक बृद्धमा पनि मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हेटौंडा–१, जरुवाटोलमा ६१ वर्षीय बृद्धले सोमबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । मंगलबार राति करिब १० बजे उनको मृत्यु भएको थियो । बुधबार प्राप्त कोरोना परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्यमा समस्या भएर लामो समयदेखि उपचाररत् वृद्धमा मृत्युपछि बुधबार विहान हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक चौलागाईंले जानकारी दिनुभयो । ती बृद्ध रक्तचाप, किड्नी, हेपाटाइटिस र प्रेसरलगायत रोगबाट पीडित थिए ।

स्वाब नमूनाको चापका कारण हेटौंडामा तत्काल परीक्षण गर्नसक्ने अबस्था छैन । मृतक वृद्धमा कसरी संक्रमण भयो भन्ने विषयमा जानकारी लिन बाँकी रहेको चौलागाईंले बताउनुभयो ।

बृद्ध मृतकको शव व्यबस्थापन भने कोभिड शव व्यबस्थापन कार्यविधिअनुसार नेपाली सेनाले जिल्लाको उपयुक्त स्थानमा गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । उनको शव घरमै थियो । शव व्यबस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिएको हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपानेले बताउनुभयो ।

मकवानपुरका बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका २० र भीमफेदी गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको हो । हेटौंडा–१ का ४, हेटौंडा–३ का ३, हेटौंडा–४ का ७, हेटौंडा–५ का २, हेटौंडा–७ का १, हेटौंडा–९ का २ र हेटौंडा–१० का १ जनामा संक्रमण देखिएको हो ।