मृत्युपछि कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडाका एक बृद्धमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार राति करिब १० बजे उनको मृत्यु भएको थियो ।

हेटौंडा–१, जरुवाटोलमा ६१ वर्षीय बृद्धले सोमबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । बुधबार प्राप्त कोरोना परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या भएर लामो समयदेखि उपचाररत् वृद्धमा मृत्युपछि बुधबार विहान हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयो । ती बृद्ध रक्तचाप, किड्नी, हेपाटाइटिस र प्रेसरलगायत रोगबाट पीडित थिए ।
स्वाब नमूनाको चापका कारण हेटौंडामा तत्काल परीक्षण गर्नसक्ने अबस्था छैन । मृतक वृद्धमा कसरी संक्रमण भयो भन्ने विषयमा जानकारी लिन बाँकी रहेको चौलागाईंले बताउनुभयो ।

मृतकको शव व्यबस्थापन कोभिड–शव व्यबस्थापन कार्यविधिअनुसार नेपाली सेनाले जिल्लाको उपयुक्त स्थानमा गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । उनको शव घरमै छ । शव व्यबस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिएको हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपानेले बताउनुभयो । हेटौंडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेलले नेपाली सेनाले चाँडै शव व्यबस्थापन गर्ने बताउनुभयो ।

मकवानपुरका बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका २० र भीमफेदी गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको हो ।

हेटौंडा–१ का ४, हेटौंडा–३ का ३, हेटौंडा–४ का ७, हेटौंडा–५ का २, हेटौंडा–७ का १, हेटौंडा–९ का २ र हेटौंडा–१० का १ जनामा संक्रमण देखिएको छ ।