नाम मात्रको सीमा सिल, अवैध चोरी निकासी यथावत


न्युज अफ नेपाल, भद्रपुर ।

नेपाल–भारत सीमा बन्द गरिएको झण्डै पाँच महिना पुग्न लाग्यो सीमा क्षेत्रमा कोरोना सङ्क्रमण जोखिम रोक्न साथै अवैध चोरी निकासीलाइ नियन्त्रण गर्न जनपथ तथा सशस्त्र प्रहरी बाक्लै परिचालन गरिएका छन् ।

भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको खुला सीमा झापामा १ सय ४४ किलोमिटर पर्छ । जिल्लाका १५ वटा स्थानीय तहमध्ये उत्तरको तिरिङदेखि दक्षिणको गौरीगञ्जसम्मको सीमा नाकासँग मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोडिएको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १२ सय सुरक्षाकर्मी खटिएको भएपनि सीमावर्ती क्षेत्रबाट अबैध चोरी निकासी व्यापार भने मौलाएर गएको छ । सीमा नाका बन्द भएपनि नेपालमा प्रतिबन्धीत लगायत नेपाली बजारमा पर्याप्त भारतीय उत्पादन भेटिन्छन् ।

वैध बाटोबाट सिमीत सामग्री आइरहेको झापाका व्यापारिक नाका भन्दा गल्ली र गौंडाबाट अवैध सामग्री भित्रने बेला बेलामा प्रहरीले बरामद गरेको सामानले पनि प्रमाणित गरेको छ । रातारात प्रहरीकै मिलिभगतमा भारतबाट नेपाल तर्फ सुर्तीजन्य पदार्थ, युरिया मल, कपडा, मेसिनरी पार्टपूर्जा, विभिन्न किटनासक औषधि , चप्पल जुत्ता भित्रिरहेको छ भने सुपारी, चुरोट, ओखर, छोगडा विभिन्न कस्मेटिक सामान, बहुराष्ट्रिय कम्पनीका विभिन्न उत्पादन, काठ लगायत सामग्री भारत तर्फ गइरहेको सीमावर्ती क्षेत्रका स्थानीयको दाबी छ ।

नेपालमा ल्याउन प्रतिबन्धित रहेका रञ्जनीगन्धा, राजनिवास, गुट्खा, तयारी खैनी, जस्ता सुर्तीजन्य पदार्थ अवैध रुपमा भित्रिएर झापाका बजारमा छ्यापछ्याप्ती पाइने गरेको छ । राजश्व छलेर व्यापारिक समूहले नेपाल ल्याएका यस्ता सामग्री बजार मूल्यभन्दा चारगुना बढीसम्ममा बिक्री गरे पनि प्रहरी प्रशासनले बिक्रेतामाथि कुनै चासो राखेको पाइदैन ।

जनपथ र सशस्त्र प्रहरीले नेपाल –’ भारत सीमा नाकामा चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गरिरहेको बताउने गरेपनि तस्करी झन मौलाउँदै गइरहेको छ ।’

एउटा समूहले तस्करी गर्न पाएन भने सीमामा खटिएका प्रहरीलाइ तस्करसँग मिलेको भन्दै विभागमा रिपोर्ट गरेका कारण पनि प्रहरीको छविमाथि आच ल्याउने काम तस्करले नै गर्दै आइरहेका छन ।

नेपालमा युरिया मलको अभाव भएपछि भारतको सुखानी हुदै केचनाका सीमा क्षेत्रका स्थानीयले भारतबाट भारतीय ६ सय रुपैयाँमा प्रतिबोरा युरिया मल ल्याएर घरमा राख्ने गरेका छन् । बजारमा मल नपाएपछि विर्तामोड,भद्रपुर,काँकडभिट्टा लगायतका क्षेत्रबाट मोटरसाइकल तथा साइकलमा गएका कारोबारी तथा किसानले प्रतिबोरा १५ सय नेपाली रुपैयाँमा खरिद गर्दै आइरहेका छन् । कारोबारीले खरिद गरी ल्याएको मल बजारमा प्रतिबोरा २५ सय सम्म बिक्री हुने गरेको छ । त्यसैगरी बाबा खैनी लगायत सुर्तीजन्य पदार्थ घेराबारीको मरिच वगान दुर्गा भिट्टा हुदै हल्दीबारी जलथलको भित्री सडक प्रयोग गरी अधिकारी चौक हुदै विर्तामोड जाने गरेको छ । दैनिक ८ /९ वटा मोटरसाइकल मार्फत तस्करी हुदै आइरहेपनि सुरक्षाकर्मीले देखेका छैनन ।

यस विषयमा सशस्त्र प्रहरी झापाका २ नम्बर गणका सूचना अधिकृत एवम डिएसपी द्रोणबिक्रम शाहले प्रहरीले देखेसम्म सामान बरामद गर्दै आइरहेको बताउँनुहुन्छ । सीमामा अवैध गतिविधी रोक्ने प्रयास जारी राखिएको उहाँको दाबी छ ।