संक्रमितलाई महिनाभर अण्डा र मासु


न्युज अफ नेपाल, हेटौंडा ।

पोषिलो खानेकुरा खानुपर्ने कोरोना संक्रमितका लागि एक महिना पुग्ने आबश्यक अण्डा र कुखुराको मासु हेटौंडाका व्यबसायीले उपलब्ध गराउने भएका छन् ।

हेटौंडा–६, गौरीटारमा रहेको आइसोलेसनका कोरोना संक्रमितका लागि कुखुरा व्यबसायी संघ मकवानपुरले एक महिनासम्म प्रतिव्यक्ति प्रतिदिन दुई वटा अण्डा र हप्तामा दुईपटक कुखुराको मासु सहयोगस्वरुप उपलब्ध गराउने भएको हो । बुधबार र शनिबार कुखुराको मासु खुवाउने व्यबस्था गरिएको छ ।

कुखुरा व्यबसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारी र उपाध्यक्ष प्रतिमा श्रेष्ठले आइसोलेसनमा पुगेर हेटौंडा–६ का अध्यक्ष अर्जुन चौलागाईं तथा हेटौंडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेललाई अण्डा र मासु उपलब्ध गराउनुभएको हो ।

‘एक महिनाका लागि करिब एक लाख ५५ हजार रुपियाँ बराबरको अण्डा र मासु उपलब्ध गराएका छौं । अण्डा र मासु आइसोलेसनसम्म ढुवानी गर्ने व्यबस्था पनि मिलाएका छौं,’ संघ अध्यक्ष अधिकारीले अर्को महिना पनि आइसोलेसनसँगको सहकार्यमा अण्डा र मासु थप उपलब्ध गराउन सकिने बताउनुभयो ।

‘संक्रमितलाई पौष्टिक खानेकुरा आबश्यक पर्ने थाहा पाएपछि चिकित्सकसँगको छलफलपश्चात् सहयोग उपलब्ध गराएका हौं,’ उहाँले भन्नुभयो ।