मिलन म्याग्दीद्वारा बाढीपहिरो प्रभावित सुत्केरी महिला तथा बालबालिकालाई सहयोग


प्रताप बानियाँ, म्याग्दी ।

पोषण र झोलुङ्गे पुल निर्माणको क्षेत्रमा क्रियाशील संस्था मिलन म्याग्दीले बाढी पहिरोबाट प्रभावित तथा विस्थापित महिला, बालबालिकाहरुलाई सहयोग गरेको छ । मिलन म्याग्दी अन्तर्गतको विपद् व्यवस्थापन विभागको संयोजनमा आर्थिक सङ्कलन गरी राहतस्वरुप उनीहरुलाई पोषणयुक्त खानेकुरा र कपडालगायत सहयोग गरिएको हो ।

मिलन म्याग्दीका संस्थापक, कार्यसमितिका पदाधिकारी, आजीवन तथा साधारण सदस्य, कर्मचारीहरु र शुभचिन्तकबाट गरी हालसम्म सङ्कलित ८७ हजार रकममध्ये ६६ हजार रुपैयाँको सामग्री खरिद गरी सहयोग गरिएको संस्थाले जनाएको छ । मिलन म्याग्दीले गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिममा भीषण वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित तथा पीडितसहित जिल्लाको अन्य क्षेत्रका बाढीपहिरो प्रभावित महिला, बालबालिकाहरुलाई सहयोग गरेको छ ।

पहिरो प्रभावित क्षेत्र मराङ, ताकम र बिमका पहिरोपीडित महिला तथा बालबालिकाहरुलाई लक्षित गरेर १ सय थान सेनेटरी प्याड, १ सय थान पेन्टी र २८ पिस म्याट्रेस उपलब्ध गराइएको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले बताउनुभयो । यसैगरी ५ जना सुत्केरी महिलाहरुलाई घ्यु, ज्वानो, मेथी, बदाम, साबुन, बच्चालाई न्यानो कपडा सेट र एकएक केजी सर्वोत्तम पीठो सहयोग गरिएको बताउँदै उहाँले अति पहिरो प्रभावित क्षेत्र मराङमा ६२, बिम र अर्मनमा १३ केजीका दरले सर्वोत्तम पीठो बालबालिकालाई सहयोग गरिएको जानकारी दिनुभयो ।

यसैबीच सुआहारा कार्यक्रमको साझेदारी संस्था केयर नेपालमार्फत बाढीपहिरो प्रभावित सुनौलो हजार दिनका महिला र बालबालिका तथा विस्थापितहरुलाई हाईजीन एवं डिग्नीटी सेट सहयोग गरिएको कार्यक्रमले जनाएको छ । जिल्लामा सुआहारा कार्यक्रमको साझेदारी संस्था मिलन म्याग्दीको संयोजनमा ५० थान सेल्टर, १ सय ९८ डिग्नीटी र ४८ थान हाईजीन सेटअन्तर्गत दैनिक उपभोग्यका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको हो । सहयोग सङ्कलनको क्रम जारीरहेको हुँदा आगामी दिनमा पनि विपद्मा परेकालाई सहयोग गरिने मिलन म्याग्दीका सचिव एवं विपद् व्यवस्थापन विभाग संयोजक दिलमाया बिटालुले बताउनुभएको छ । हेलिकप्टरका साथै विभिन्न माध्यमको सहयोगमा पठाइएको उक्त सामग्रीहरु पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापा, धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र अन्नपूर्णका उपाध्यक्ष केशमाया मगरले वितरण गर्नुभएको थियो ।

केयर नेपालले सहयोग पठाएको सामग्रीहरुमध्ये सबैभन्दा धेरै धवलागिरी गाउँपालिकामा १ सय ५० थान डिग्नीटी सेट सहयोग गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले बताउनुभयो । उहाँले दिएको जानकारीअनुसार मालिकामा २७ डिग्नीटी र २७ थान हाईजीन, मंगलामा ११ सेट डिग्नीटी, रघुगंगामा ७÷७ सेट डिग्नीटी र हाईजीन तथा अन्नपूर्णमा तीनतीन सेट डिग्नीटी र हाईजीन वितरण गरिएको छ । यसअघि विनाशकारी भूकम्पको समय, बैंसरी पहिरोपीडितका साथै जिल्लाको विभिन्न ठाउँमा सहयोग गरिएको हुँदा आगामी दिनमा पनि आपत्विपद्मा परेकाहरुलाई निरन्तर रुपमा सहयोग गरिने मिलन म्याग्दीका अध्यक्ष शिव बानियाँले बताउनुभयो ।