भक्तपुरमा कोरोना संक्रमितको संख्या १५५ पुग्यो

0
Shares

पुष्कर बुढाथोकी
भक्तपुर । एकै दिन भक्तपुरमा थप १३ जनामा संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिए अनुसार तुलनात्मक रुपमा थोरै भएपनि सोमबार भक्तपुर जिल्लामा हालसम्मकै सर्वाधिक संक्रमित थपिएका हुन् । जसमध्ये जिल्ला ९ जना पुरुष र ४ जना महिलामा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार १३ जना मध्य भक्तपुर नगरपालिकामा ६ जना, मध्यपुर थिमि नगरपालिकामा ३ जना, सूर्यविनायक नगरपालिकाका ३ जना र चाँगुनारायण नगरपालिकामा एक जना रहेका छन् ।
काठमाडौं उपत्यकामा सोमबार मात्रै १६८ जनामा कोरोना संक्रमण रहेको तथ्यांक आएको छ ।
उपत्यकाका अन्य दुई जिल्ला काठमाडौं र ललितपुरमा संक्रमितको संख्या निकै उच्च भएपनि भक्तपुरमा संक्रमणको दर सामान्य नै रहँदै आएको थियो । तर पछिल्लो समय दैनिक संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।
भक्तपुरमा पनि समुदायस्तरमै संक्रमण फैलिसकेको निष्कर्ष स्वास्थ्य कार्यालयको छ ।
हालसम्म भक्तपुरमा संक्रमितहरुको संख्या एकसय ५५ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्यांक छ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरमा सोमबार १४ जना संक्रमित थपिएको भनिए पनि १३ जनामात्रै रहेको कार्यालयले बताएको छ ।
भक्तपुरमा गएको वैशाख ३० गते पहिलोपटक दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए ।
मिजारका अनुसार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालकी थप एक स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि उक्त अस्पतालकै तीन स्टाफ नर्स र एक कार्यालय सहयोगीलाई कोरोना भाइरस संक्रमण भएको थियो ।
तीन स्टाफ नर्सको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा सोमबार थप एकजना स्टाफ नर्समा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।
अस्पतालका तीन स्टाफ नर्स र एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि शनिबार नै अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । संक्रमित नर्स र कर्मचारीसँगको सम्पर्कमा रहेकाहरु अस्पतालकै आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ।
हालसम्म भक्तपुरका ५७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भै सामान्य जीवनमा फर्किसकेका छन् ।