धुलिखेल अस्पतालमा मृत्यु भएका वरिष्ठ समाजसेवीका ७ परिवार सदस्यमा कोरोना संक्रमण पुष्टि 

अस्पतालमा कार्यरत ६ स्वास्थ्यकर्मी समेत संक्रमित

0
Shares

भगवती तिमल्सिना/मोतिराम तिमल्सिना, काभ्रे ।

धुलिखेल अस्पतालका ६ जना स्वास्थ्यकर्मी सहित मंगलबार बिहान धुलिखेल अस्पतामा कोरोना संक्रमणका कारण मृत्यु भएका ९८ बर्षका बरिष्ठ समाजसेवीका परिवारका थप ७ सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वर्गीय समाजसेवीको विद्युतिय शवदाहगृह पशुपतिमा अत्यष्टि गरिदै छ भने संक्रमित परिवारका सदस्यहरुलाई धुलिखेल अस्पतालको आईसोलेसनमा राख्ने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पनि धुलिखेल अस्पतालकै आईसोलेसनमा राखिएको छ । जेष्ठ नागरिक समाजसेवी धुलिखेल विकासका क्षेत्रमा योजना बनाउने १२ सदस्य मध्ये एक हुनुहुन्थ्यो । उहाँको मृत्युको खबरले धुलिखेल बासिहरुले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्

यहि श्रावण २९ गते समाजसेवी बृद्धका साथ थप ३ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै धुलिखेल अस्पताल सिल गरि समाजसेवी बृद्धका साथ अन्य बिरामीको सम्पर्कमा पुगेका १ सय २० जना चिकित्सक तथा स्वास्थ्यकर्मी क्वारेन्टीनमा राखिएको थियो । परिवारका सदस्यमा यस अघि पनि २ जनामा कोरोना पुष्टि भैसकेको थियो भने अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भैसकेको थियो ।

कोरोना पुष्टि भएका समाजसेवीका परिवारका २ सदस्य भने बानेश्वर स्थित घरमै होम क्वारेन्टाईनमा बस्दै आएको अस्पतालले जनाएको छ । समाजसेवी बृद्धको कोरोना पुष्टि भएकै दिन जन्मदिन परेकाले धुलिखेल अस्पतालमा उपचार गराई पुख्यौली घरमै पारिवारीक रुपमा जन्मदिन मनाउने योजना बनेको थियो । तर अब उहाँसँग कहिल्यै भेटन र जन्मदिन मनाउन नपाईने भयो परिवारका एक सदस्यले भक्कानीदै भने ।

ती सदस्य भन्छन् आखिर उहाँले धुलिखेल विकासका लागि यत्रो परिकल्पना गर्नुभयो हामीले अन्तिम अवस्थामा उहाँका लागि एक शब्द बोल्न र एकथुगा फुल चढाउन समेत पाएनौ ।

पोजेटिभ देखिएका स्वास्थ्यकर्मीहरुको कन्ट्रयाक ट्रेसिङ शुरु भएको अस्पतालले जनाएको छ । बृद्ध समाजसेवीसँगको सम्पर्कमा पुगेका धुलिखेल अस्पतालका १ सय ९८ जनाका साथ परिवार र बृद्धलाई भेटनका लागि अस्पताल पुगेका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्नुका साथै धुलिखेलको संक्रमित परिवारको घरवरपर र अस्पताल एरिया सिल गरिएको छ ।

अस्पतालले कन्ट्रयाक ट्रेसिङको नमूना संकलन गरि परिक्षण कार्यलाई निरन्तरता दिँदै संक्रमित उपचारका मापदण्डको पालना गर्दै संक्रमितका लागि छुट्टै भवनमा सुरक्षा सहित अन्य आवश्यक प्रवन्ध मिलाई सेवा दिईरहेको र अति आवश्यक सबै सेवा संचालनमा राखेको जनाउँदै भाद्र ३ गते अर्को सुचना नआएसम्मका लागि ओपिडि सेवा भने सुचारु नगर्ने जनाएको छ ।

पहिलो पटक स्वर्गीय समाजेवी ९८ बर्षका बृद्धलाई स्याहार सुसारमा जुटदै आएकी परिवारकै एक महिला सदस्यमा कोरोना संक्रमण पुष्टि भएपनि उनी अस्पतालको आइसोलेसनमा बस्न नमानेपछि ४ दिन अघि अस्पतालकै एम्बुलेन्समा बानेश्वर घरमा जानुभएको अस्पताल स्रोतले जनाएको छ । समाजसेवी बृद्धलाई ज्वरो आउनु पहिला अहिले कोरोना संक्रमण पुष्टि भएर पनि घरमै बस्दै आएकी महिलाका साथ अर्का एक सदस्यलाई पनि ज्वरो आई औषधि सेवन गरिरहेको र परिवारलाई जानकारी नगराएको अस्पतालले गरेको ट्रेसिङ कन्ट्रयाकका क्रममा पत्ता लागेको अस्पताल स्रोतले जनाएको छ । यदि परिवारका ती सदस्यले समयमै कोरोना परिक्षण गरि सुुरक्षा अपनाएको भए यति ठूलो संख्यामा परिवार लगायत अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी संक्रमित हुने थिएनन कि भन्ने अनुमान स्वास्थय विज्ञहरुको रहेको छ ।

स्वर्गीय समाजसेवी बृद्ध लामो समयदेखि बानेश्वरमा छोरा बुहारीका साथ बस्दै आउँनुभएकाले उहाँको बसाई भएको परिवारका सदस्यहरुको कन्ट्रयाक ट्रेसिङको दायरा बढाउनुपर्ने देखिन्छ । जेष्ठ नागरिक बृद्धलाई काठमाडौकै परिवारबाट कोरोना संक्रमण फैलिएको हुनसक्ने भएकाले कन्ट्रयाक ट्रेसिङ उतै बढाउनुपर्ने अस्पतालले अनुमान गरेको थियो ।

अस्पताल स्रोतका अनुसार पछिल्लो समय कोरोना संक्रमण भएका व्यक्तिले आफ्नो समस्या लुकाएर परिवार र समुदायलाई समेत संक्रमित हुन बाध्य पारेकाले पिसिआर परिक्षण समुदाय स्तरमै गर्नुपर्ने देखिन्छ । जतिसक्दो चाडो पिसिआर परिक्षणलाई समुदायमै केन्द्रित नगर्ने हो भने संक्रमितको संख्या ह्वातै बढ्ने र संक्रमितका साथै मृतकको संख्या उच्च हुने देखिन्छ ।

\यो सम्म काभ्रे जिल्लाका २ जना कोरोना संक्रमणका कारण मृत्यु भैसकेका छन् । यस अघि पाँचखालकी एक ५४ बर्षिय महिला विभिन्न अस्पतालमा उपचार नपाएर चहार्दा चहार्दै ललितपुरको किष्ट अस्पतालमा भर्ना पाईन उपचार नहुँदै मृत्यु भएको थियो । उनको मृत्यु पछि मात्र कोरोना पुष्टि भएको थियो ।