जन्मोत्सव मनाउने खर्च पीडितलाई राहत


भूपराज बस्याल, स्याङ्जा ।

जन्मोत्सव मनाउने सबैका आ आफ्नै तरिका हुन्छन् । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ३ का वडा महेश भट्टराईले भने आफ्नो जन्मोत्सव अलि फरक ढंगले मनाउनु भएको छ ।

समाजसेवामा सक्रिय अध्यक्ष भट्टराईले आफ्नो जन्मोत्सव मनाउने खर्चको राहत लिएर पीडितको घरमा पुग्नु भएको हो । आइतबार परेको ४३ औं जन्मोत्सवको अवसर पारेर भट्टराई मृगौला पीडितको घरमा पुग्नु भएको हो । गल्याङ नगरपालिका २ गराङ्दीका १५ महिने मृगौला पीडित बालक जस्टिन परियारको सहयोगको लागि आइतबार भट्टराई पीडितको घरमा पुगि जन्मोत्सव मनाउने खर्चको राहत वितरण गर्नुभएको हो । सबैले आ आफ्नै तरिकाले जन्मोत्सव मनाउछन् । मैले भने अलि फरक ढंगले मनाउ भनेर जन्मोत्सव मनाउने खर्च लिएर पीडितको घरमा आएको भट्टराईले बताउनुभयो ।

लायन्स क्लब जिल्ला ३२५ बि १ का सल्लाहकार समेत रहनु भएका भट्टराईको जन्मोत्सवको अवसर परेर लायन्स क्लब गल्याङ सिटिले उक्त राहत वितरण कार्यक्रमको आयोजना गरेको थियो । क्लबका पदाधिकारी सहित पीडितको घरमा पुग्नु भएका भट्टराईले पीडित परिवारलाई दश हजार रुपैयाँ र दुई बोरा चामल सहयोग गर्नु भएको थियो । उक्त राहत वितरणको अध्यक्षता गल्याङ सिटिका अध्यक्ष अर्जुन बस्यालले गर्नुभएको थियो ।

मनोज परियार र जानमाया परियार बाट जन्मिएको दोश्रो सन्तान जस्टिन परियार जन्मदेखि नै एउटा मृगौला नभएको र भएको एउटाले पनि राम्रोसंग काम नगरेको हुँदा बच्चाको वृद्धि बिकास हुन नसकेकोले निरन्तर औषधि खुवाउनुपर्ने हुँदा आर्थिक अवस्था पनि कमजोर हुँदै गएको अवस्थामा सहयोग गर्ने दाता प्रती पीडित बालका बुवा मनोज परियार धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो बच्चा जन्मिएको डेढ महिना पछि खाएको सबै बान्ता गर्ने लक्षण देखा परे लगत्तै अस्पताल लगेर चेकजाँच गर्दा यस्तो थाहा भएको हो । उपचारको लागि पाल्पा हुँदै टिचिङ हस्पिटल सम्म र्पुयाएको हालसम्म १३ / १४ लाख खर्च भएको उहाँले बताउनुभयो ।

लकडाउनका कारण औषधि नपाएको गुनासो

लकडाउनका कारण बिरामी बच्चालाई खुवाउने औषधि नपाएको गुनासो घर परिवारले गरेका छन् । राहत लिएर पुगेका जन प्रतिनिधि समक्ष परिवारले यस्तो गुनासो गरेका हुन् । यो क्षेत्रमा बिरामी बच्चाको औषधि नपाइने भएको हुँदा निरन्तर काठमाडौ बाट औषधि चलाउदै आएको तर यो लकडाउन भएपछि काठमाडौ जान नपाएको हुँदा औषधि को समस्य भएको घर परिवारले जनाएका छन् ।

औषधि जम्मा दुई तीन महिनाको लागि मात्रै ल्याउने गरिएको थियो औषधि सकिएको थियो लिन जाने बेला लकडाउन भएकोले चैत देखि औषधि खुवाउन नपाएको बच्चाका बुबा मनोज परियारले बताउनुभयो । उहाँले भन्नुभयो औषधि खुवाउदा बच्चाले बान्ता गर्दैन थियो औषधि सकिएपछि भैसिको दूध बाहेक सबै बान्ता हुन्छ । बच्चाको समस्य आफ्नो वडा अध्यक्षलाई पनि थाहा भएको तर औषधि को बारेमा आफुहरुले पनि अध्यक्षलाई नबताएको र अध्यक्षले पनि अहिलेसम्म केही नभनेको हुँदा औषधि बिहिन भएको परियारको गुनासो थियो ।