कोभिड–१९ को असर बैंकहरूको नाफामा


नेपाल समाचारपत्र, काठमाडौं
कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा गम्भीर समस्या पर्दै गरेका बेला बैंकिङ क्षेत्रमा पनि त्यसको केही असर देखा परेको छ । वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्दा कोभिडको असर अधिकांश बैंकको नाफा देखा परेको हो ।
लकडाउनका कारण पुँजी परिचालन नहुँदा बैंकमा ठूलो रकम जम्मा भएर बस्नुका साथै ऋणको ब्याजमा छुट दिँदा बैंकहरूकाृे नाफामा संकुचन आउन पुगेको बैंकरहरूको दाबी छ । यद्यपि, आर्थिक वर्ष २०७६/७७ मा २७ वटा वाणिज्य बैंकहरूले कुल ५३ अर्ब ९९ करोड रुपियाँ नाफा कमाएका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा घट्नेमा सबैभन्दा धेरै सिभिल बैंक रहेको छ । यस बैंकको ३५ प्रतिशतभन्दा बढी नाफा घटेको छ भने नेपाल एसबीआई बैंकको ३३ प्रतिशतभन्दा बढी, माछापुच्छ«े बैंकको २६ प्रतिशतभन्दा बढी नाफा घटेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको २२ प्रतिशतभन्दा बढी, बंगलादेश बैंकको २१ प्रतिशतभन्दा बढीले खुद नाफा घटेको छ । साथै स्टान्डर्ड चार्टर्ड, एभरेष्ट र सनराइज बैंकको १८ प्रतिशतभन्दा बढी, सानिमा बंैकको २४ प्रतिशतभन्दा बढी र नबिल बैंकको १५ प्रतिशतभन्दा बढीले नाफा घटेको छ ।

यसैगरी सिटिजन्स बैंक र प्रभु बैंकको २३ प्रतिशतभन्दा बढी, कृषि विकास बैंकको १७ प्रतिशतभन्दा बढी, हिमालयन बैंकको ८ प्रतिशत, सिद्धार्थ बैंकको ७ प्रतिशतभन्दा बढी, मेगा बैंक, लक्ष्मी बैंकको ६ प्रतिशतभन्दा बढी, नेपाल बैंकको डेढ प्रतिशत र कुमारी बैंकको एक प्रतिशतभन्दा कम नाफा घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा केही बैंकले भने नाफा बढाएका छन् । नाफा बढाउनेमा सबैभन्दा अघि सेन्चुरी बैंक रहेको छ । यो बैंकले ३४ प्रतिशतभन्दा बढी नाफा बढाएको छ । साथै ग्लोबल आइएमई बैंकको ११ प्रतिशतभन्दा बढी, एनसीसी बैंकको १० प्रतिशतभन्दा बढी, प्राइम, एनआईसी, एनएमबि बैंकले झिनो भए पनि खुद नाफा बढाएका छन् ।

रकमका आधारमा राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै देखिएको छ । उक्त बैंकले ४ अर्ब ४५ करोड रुपियाँ खुद नाफा गरेको छ भने सबैभन्दा कम सिभिल बैंकले एक वर्षमा जम्मा ४५ करोड रुपियाँ नाफा गरेको छ । गत आार्थिक वर्षमा एक दर्जन बैंकले मात्रै २ अर्ब रुपियाँभन्दा धेरै नाफा कमाएका छन् भने बाँकी सबै बैंकको नाफा २ अर्ब रुपियाँभन्दा कम रहेको छ ।

तीन अर्ब रुपियाँभन्दा बढी नाफा गर्नेमा नबिल, कृषि विकास, एनआईसी एसिया, ग्लोबल आइएमई बैंक रहेका छन् । २ अर्बभन्दा कम नाफा गर्ने बैंकहरूमा स्टान्डर्ड चार्टर्ड, नेपाल बंगलादेश बैंक, सनराइज, सानिमा, कुमारी, नेपाल एसबीआई, लक्ष्मी, माछापुच्छ«े, मेगा, सिटिजन्स, बैंक अफ काठमाडौं, प्रभुलगायतका बैंक रहेका छन् । साथै सिभिल र सेन्चुरी बैंकको एक अर्ब रुपियाँभन्दा कम रहेको छ ।