लिदी पहिरो अपडेट : १८ को मृत्यु, २१ अझै बेपत्ता

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदीमा शुक्रबार विहान करिब ६ः३० बजे माथिबाट पहिरो आउँदा भएको मानवीय क्षति र घाइतेको विवरण सार्वजनिक गरिएको छ । हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयले उक्त विवरण सार्वजनिक गरेको हो ।

घटनाका मृतकतर्फ टीकामाया दोङ (३६), छिरिङ दोङ (१४), जिते झाँक्री (८०), मिलन दोङ (८), सानु दोङ (५), जयबहादुर दोङ (७०), सानोकान्छी दोङ भनिने दावा लामुदोङ (३०), प्रीति दोङ (५), कान्छी दोङ भनिने तारा लामुदोङ (५ महिना), धनमाया तामाङदोङ (३४), रेमिश दोङ (४ महिना), माइला पराङदोङ (१६), मेकमाई दोङ (३७), च्यामा दोङ (११), बिमला दोङ (७), कबिर दोङ (७ महिना), लक्ष्मी दोङ (११) र मानबहादुर दोङ (३०) छन् ।

शनिबार साँझसम्म १८ वटै शव आफन्तले बुझेर सदगत् गरिसकेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका सूचना समन्वय अधिकृत रोशन थापाले बताउनुभयो ।

घाइते रुपबहादुर दोङ (९) को जिल्ला अस्पताल चौतारामा उपचार भएर शनिबार १२ः५० बजे डिस्चार्ज भएका छन् । जुनुमाया दोङ (४३), केवरिङ तामाङ (६०), पासाङ दोङ (२३), यामुलामु दोङ (४५) को सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । २१ जना बेपता छन् । हालसम्म बुझिएअनुसार ३७ घरमा क्षति भएको प्रनि थापाले बताउनुभयो ।

पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार सिन्धुपाल्चोक पुग्नुभएको थियो । लिदीमा भएको पहिरोप्रभावितका लागि स्वास्थ्य सामग्री, राहत तथा अत्याबश्यक सामग्रीसहित उहाँ त्यसतर्फ जानुभएको हो ।

स्थलगत निरीक्षणपछि उक्त क्षेत्रमा खानेपानीका पाइप, अस्थायी शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्यसामग्री व्यबस्था गरिएको छ । हाल उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले उद्धारका काम जारी राखेका छन् भने थप सहयोगका लागि नेपाली सेनाको एउटा टुकडी हेलिकोप्टरमार्फत् उक्त क्षेत्रमा पुर्‍याइएको छ ।

मुख्यमन्त्री पौडेलले तत्काल अस्थायी बासस्थान, राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो । उक्त स्थान बस्तीका लागि उपयुक्त नभएको स्थानीयले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । मुख्यमन्त्री पौडेलले स्थानीयको मागअनुसार बस्ती स्थानान्तरण गरिने बताउनुभयो । बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी सकेसम्म छिटो स्थानान्तरण गरिने उहाँले विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो–’जीविकोपार्जन गर्न रोजगारी हुने गरी स्थानान्तरण गर्नुपर्छ । ‘स्थानीयलाई परेको विपत्तिमा सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । उचित व्यबस्थापन गर्ने सरकारको दायित्व रहेकोले सरकारले तत्काल काम थाल्ने भन्दै उहाँले केही समयभित्र समग्र सिन्धुपाल्चोकको समस्या हल गर्न सदरमुकाम चौतारामा छलफल गरिने जानकारी दिनुभयो ।

उक्त क्षेत्रका सरोकारवालासँग गम्भीर छलफल गरी निकास निकालिने भन्दै उहाँले भन्नुभयो–प्रदेशका मन्त्रीहरु, सांसद, जनप्रतिनिधि लगायत सरोकारवालासँग प्राविधिकसहित टोली राखेर छलफल गरेर निकास निकालिने छ ।

उक्त क्षेत्रको अबस्थाबारे प्रदेशसभा सांसद एवम् बागमती प्रदेश अर्थ विकास समिति सभापति सरेस नेपाल, जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले उक्त क्षेत्रबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।

टोलीमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका प्रमुख सचिव मानबहादुर बीके, मध्यपृतनापति ताराध्वज पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त लामा पनि त्यसतर्फ जानुभएको थियो ।