काठमाडाैँ । सुन आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । आज हिजोको भाउमा तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो महिना सुनको भाउले दैनिक जस्तै रेकर्ड बनायो । रेकर्ड बनाउने क्रममा सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँसम्म पुग्यो ।
तर गएको आइतबारदेखि बुधबारसम्म ओरालो लागेको सुनको भाउ बिहीबार र शुक्रबार भने फेरि उकालो लाग्यो । शुक्रबारको भाउमा आज भने फेरि सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित हुँदा भाउ महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी यो महिना तोलामा ३ सय २० रुपैयाँ बढेको छ ।
त्यस्तै चाँदीको भाउ आज तोलाको एक हजार ३ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि यो महिना रेकर्ड बनाउँदै तोलाको एक हजार ४ सय ३५ रुपैयाँसम्म पुग्यो । गएको मंगलबार अहिलेसम्मकै महँगो तोलाको एक हजार ४ सय ३५ रुपैयाँ पुगेको चाँदीको भाउ बुधबार एकैदिन तोलामा २ सय २५ रुपैयाँ घट्यो ।
तर बिहीबार र शुक्रबार उकालो लागेको चाँदीको भाउ आज भने तोलामा चाँदी ३० घटेको छ । चाँदी आज तोलाको १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया