काठमाडौँमा स्तन क्यान्सर बढ्दो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले क्यान्सर रोगका बिषयमा रणनीति बनाउन र कार्यानवयन गर्न सहज होस भन्ने उदेश्यले क्यान्सरका बिरामीको रजिष्ट्री गर्न शुरु गरेको जनाएको छ ।

परिषदले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री को काम सन २०१८ जनवरी देखि शुरुवात गरेको हो ।

रजिष्ट्रीको मुख्य उद्देश्य, सरकारलाई आबश्यक पर्ने क्यान्सर रोगसम्बन्धि तथ्यांकको जानकारी गराई उक्त रोग नियन्त्रणका लागी नीति तथा रणनीति योजना तर्जुमा र कार्यान्वयन गर्न सहयोग गर्ने रहेको छ ।

हाल नेपालमा भिन्ना भिन्नै भौगोलिक क्षेत्र तथा शहरीकरणको अवस्थालाई समावेश हुने गरि, नेपालका ९ जिल्लामा तीनवटा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री संचालनमा रहेको परिषदले जनाएको छ ।

काठमान्डौ उपत्यका क्यान्सर रजिष्ट्रीमा उपत्यका भित्रका काठमाण्डौ, भक्तपुर र ललितपुर गरि तीन जिल्लालाई समेटेको छ र नेपालको शहरी क्षेत्रलाई प्रतिनिधित्व गर्दछ ।

रुकुम क्यान्सर रजिष्ट्रीले पुर्वी र पश्चिम रुकुम गरी दुई जिल्लालाई समेटेको छ र नेपालको पहाडी तथा ग्रामीण क्षेत्रलाई प्रतिनिधित्व गर्दछ ।सिरहा, सप्तरी, धुनषा, महोत्तरी क्यान्सर रजिष्ट्रीले तराईका चार जिल्लालाई समेटेको छ र यसले अर्ध—शहरी क्षेत्रलाई प्रतिनिधित्व गर्दछ ।

यसरी शहरी, अर्ध-शहरी र ग्रामीण क्षेत्र समेटिने गरी नेपालका नौ वटा जिल्लामा कुल जनसंख्याको २० दशमल्भ ५ % जनसंख्यामा यो क्यान्सर रजिस्ट्रीको पहुँच पुगेको जनाएकोछ ।

के–के प्राप्त भए?

रजिष्ट्रीले समावेश गरेको नेपालको करीब ६० लाख जनसंख्यामा कुल जनसंख्याको २० दशमल्भ ५ %, २०१८ मा नया क्यान्सर बिरामी ३ हजार ३ सय ४९ पाईएको छ भने २०१८ मा क्यान्सर लागी मर्नेको संख्या ९ सय ९४ पाईएको छ । यसको आधारमा हेर्ने हो भने २०१८ मा नेपालको कूल जनसंख्यामा जम्मा १६ हजार ७ सय ४५ नयाँ बिरामी रहेको पाइन्छ ।

सन् २०१८ मा काठमाण्डौ उपत्यकाको कूल ३० लाख जनसंख्यामा २ हजार १ सय ५६ नया क्यान्सर बिरामी पाईएको छ । जसमा ९ सय ९९ पुरूष छन् भने १ हजार १ सय ५७ महिला रहेका छन् । नयाँ क्यान्सर बिरामीको कूल दर प्रति १ लाख पुरुषमा ९५ दशमल्भ ३ र महिलामा ९८ दशमल्भ १ प्रतिशत पाईएको छ ।

तेस्तै गरि काठमाडौँमा मृत्यु हुनेको संख्या ६ सय ७० रहेको छ जसमा ३ सय ६५ पुरूष छन् भने ३ सय ५ महिला रहेका छन् । रुकुम जिल्लामा कूल २ लाख जनसंख्यामा ८७ नया क्यान्सर बिरामी पाईएको छ जसमा ४४ पुरूष छन् भने ४३ महिला रहेका छन् । नयाँ क्यान्सर बिरामीको कूल दर प्रति १ लाख पुरूषमा ५९. र महिलामा ५१ प्रतिशत पाईएको छ । रुकुममा नयाँ क्यान्सर बिरामीको दर काठमाण्डौ उपत्यकामा भन्दा कम देखिएको छ ।

तेस्तै गरि रुकुममा मृत्यु हुनेको संख्या ३८ रहेको छ जसमा ४४ पुरूष छन् भने ४३ महिला रहेका छन् ।

सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा कूल २८ लाख जनसंख्यामा १ हजार १ सय ६ नया क्यान्सर बिरामी पाईएको छ जसमा ५ सय ६४ पुरूष छन् भने ५ सय ४२ महिला रहेका छन् . नयाँ क्यान्सर बिरामीको दर प्रति १ लाख परूषमा ४७ दशमल्भ १ प्रतिशत र महिलामा ४४ दशमल्भ ६ प्रतिशत पाईएको छ ।

तेसैगरी सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा मृत्यु हुनेको संख्या २ सय ८६ रहेको छ जसमा १ सय ५५ पुरूष छन् भने १ सय ३१ महिला रहेका छन् ।

नेपालको सबै भौगोलिक क्षेत्रहरुमा प्राप्त क्यान्सर बिरामीको तथ्यांकमा फोक्सोको क्यान्सर उच्च रहेको पाईएको छ  महिलाहरूमा, शहरी क्षेत्रमा (काठमाडौँ) स्तन क्यान्सर बढी देखिएको छ भने ग्रामीण क्षेत्रमा (रुकुम) पाठेघरको मुखको क्यान्सर बढी पाईएको छ ।

सिराहा,सप्तरी, धनुषा र महोत्तरी जिल्लामा पुरुषमा मुखको क्यान्सर,प्रमुख क्यान्सरको रुपमापाईएको छ भने अरु क्षेत्रमा यो क्यान्सर त्यती धेरै पाईएको छैन ।

अब के गर्नुपर्छ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति बनाई, उपलब्ध प्रमाणको आधारमा, निश्चित क्षेत्रमा देखिएका क्यान्सर रोगलाई लक्षित गरि क्यान्सर उपचार तथा रोकथामका कार्यक्रम बनाई संचालन गर्नुपर्दछ ।

धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोजन र बिक्रि बितरण कार्यमा रोकथाम गर्ने । सुर्तीजन्य पदार्थ प्रयोगको रोकथाम कार्यक्रमलाई, सुचना प्रविधि र समुदायमा आधारित भएर सक्रिय बनाउने ।

काठमाण्डौ उपत्यका भित्र महिलामा स्तन क्यान्सर बढी देखिएकाले स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम, परिक्षण तथा प्रारम्भिक खोज र उपचार कार्यक्रमलाई प्रभाबकारी बनाउने ।

त्यसैगरी,पाठेघरको मुखको क्यान्सर रोकथामका लागी यो क्यान्सर सम्बन्धि जनचेतना फैलाउने, परिक्षण गर्ने, खोप लगाउने,प्रारम्भिक खोज तथा उपचार कार्यक्रमहरु संचालन गर्ने ।

ग्रामीण र अर्ध—शहरी क्षेत्रमा क्यान्सरका लागी प्रारम्भिक खोज केन्द्रहरुको स्थापना गर्ने । प्रमुख क्यान्सरहरु जस्तै फोक्सो, टाउको र घाटी, पेट, पित्तथैली आदिको जोखिमका कारक तत्व सम्बन्धि थप अध्ययन अनुसन्धान गर्ने ।