हत्या गरेर फरार रहेका मगर १७ वर्षपछि प्रहरी नियन्त्रणमा


न्युज अफ नेपाल, काठमाडौँ ।

कुटपिट गरी हत्या गरेर फरार रहेका झापा साविक जलथल गाविस ८ हाल हल्दीबारी ५ का ४३ वर्षिय दुर्गाबहादुर थापा मगर पक्राउ परेका छन्  ।

महिलाको हात छोएको विषयमा विवाद भइ कुटपिटबाट हत्या गरी फरार रहेका मगरलाइ बर्षौपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले साउन २२ गते विहीबार मेचीनगर नगरपालिका १२ शहरेडाँगी स्थित रहेको आफन्तको घरमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारिएको जिल्लाका डिएसपी राकेश थापाले जनाउँनुभयो  । मगरले टाघनडुब्बा गा.वि.स. वडा नं. ४ हाल झापा गाउँपालिका सोही वडाका ४५ वर्षिय बीरिकलाल माझीलाइ कुटपिट गर्दा मृत्यु भएको थियो । प्रहरीले मगरलाइ शुक्रबार अपरान्ह् पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

वि.सं.२०६० कार्तिक ३० गते छोरीको घर जलथल आएका मृतक माझीलाई सामान्य विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएर मगर फरार भएका थिए  । छोरीको घर आएका माझी साँझ ७ बजेतिर घुम्न निस्कने क्रममा साविक जलथल ८ स्थित मणिकुमार राईको भट्टी पसलमा चुरोट मागेकोमा पसल सञ्चालककी छोरीले चुरोट दिँदा हात समाएको भन्दै विवाद हुँदा पक्राउ परेका थापा र फरार रहेका खेम फुँयल सहितका ३–४ जनाले बिरीकलाल माझीलाई होटलमा भएको विवादकै निहँुमा एक्कासी भुईमा लडाई चिरपट दाउरा र बुटले प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते माझीको वि.सं.२०६० मङसिर ४ गते उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको थियो । घट्नापछि दुर्गा तथा खेम बिरूद्ध ज्यान मारेको अभियोग लगाएर मृतकका ससुरा बिष्णुलाल माझीले कुटपिट गरी कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी  दिएका थिए ।

झापा जिल्ला अदालतबाट  २०७७ वैशाख ३० गते पक्राउ अनुमति लिएर खोजी तीव्र  पारिएको जिल्लाका एसपी कृष्ण प्रसाद कोइरालाले जनाउँनुभयो । थापा मगरलाई इन्सपेक्टर साकारराज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले  पक्राउ गरेको एसपी कोइरालाको भनाइ छ । आफ्नो घर नबसी काठमाण्डौ, भारतको कोलकत्ता ,दार्जिलिङ लगायतका विभिन्न स्थान , वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबई देशमा समेत गई बसेको र नेपालमा हुँदा प्राय आफन्तहरुकै घरमा लुकिछिपि बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कोइरालाको भनाइ छ ।

मगरलाई जिल्ला अदालत झापामा शुक्रबार पेश गरी पहिलो पटक ५ दिनको म्याद थपेर अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।

उनले मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको दफा १३ बमोजिमको कसुर गरेकाले जन्म कैद सम्मको सजाय हुन सक्ने व्यवस्था रहेको कोइरालाको भनाइ छ । फरार रहेका अर्का आरोपी फुँयलको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।