बजेट र मौद्रिक नीति कार्यान्वयन गर्न छलफल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिले गरेका व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा छलफल गरेको छ ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको बैठकले घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन व्यवसायमा कर्मचारीको पारिश्रमिक भुक्तानी, व्यवसाय सञ्चालनका लागि खडा गरिने कोष, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमा तथा कोरोना बीमासम्बन्धी विषयमा छलफल गरेको थियो ।

त्यस्तै सरकारी ऋणपत्रको अभौतिकीकरण एवम् दोस्रो बजार कारोबार तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज तथा सीडीएस एन्ड क्लियरिङको पुनर्संरचना, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि एवम् हेजिङसम्बन्धी नियमावली संशोधनका विषयमा पनि छलफल भएको छ ।

उक्त छलफलमा नेसनल पेमेन्ट गेटवे सञ्चालनलगायतका विषयको यथाशीघ्र कार्यान्वयनका लागि सबै निकायले आफ्नो जिम्मेवारीको कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगतिसहित उपस्थित हुन अर्थमन्त्रीले निर्देशन दिनुभएको थियो ।