उद्योग व्यवसाय सामान्य अवस्थामा फर्किन ९ महिना लाग्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
लकडाउनपछि उद्योग व्यवसायहरू सामान्य अवस्थामा फर्किन औसत करिब ९ महिना लाग्ने अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकद्वारा गरिएको अध्ययनमा यस्तो देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सामान्य अवस्थामा फर्किन सबैभन्दा बढी अवधि रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप क्षेत्र (१३ दशमलव ८ महिना) र होटल तथा रेष्टुरेन्ट क्षेत्र (१३ दशमलव २ महिना) र सबैभन्दा कम अवधि (५ दशमलव १ महिना) सञ्चार क्षेत्रमा लाग्ने देखिएको हो ।

त्यस्तै ८२ दशमलव ३ प्रतिशत उद्योगी व्यवसायले बन्दाबन्दीपश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने बताएका छन् । कारोबार घटाएर अहिलेकै व्यवसायलाई निरन्तरता दिने योजना रहेका उद्योग, व्यवसायीको संख्या ४ दशमलव ५ प्रतिशत रहेको छ भने नयाँ व्यवसाय शुरु गर्न चाहने ५ प्रतिशत रहेका छन् ।

त्यसैगरी ५ दशमलव ४ प्रतिशतले व्यवसाय बिक्री गर्ने र २ दशमलव ८ प्रतिशतले बन्द गर्न चाहेको बताएका छन् । राष्ट्र बैंकले गरेको सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । जसमध्ये थोक तथा खुद्रा व्यापारबाट २८ दशमलव २ प्रतिशत, उत्पादनमूलक उद्योगबाट १८ दशमलव २ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १६ दशमलव ५ प्रतिशत सहभागी थिए ।