दुई पटक स्वाब दिँदा समेत आएन रिपोर्ट, तेस्रो पटक स्वाब संकलन

होटलकै क्वारेन्टाईनमा १५ दिन 

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत । 

कोरोना संक्रमण पुष्टि भए नभएको बारेमा परिक्षण गर्न एक पटक स्वाब लिइन्छ । तर पर्वतको कुस्मामा क्वारेन्टाईनमा बसेका एक ब्यक्तिले दुई पटक स्वाब दिदा पनि रिर्पोट नआएपछि तेस्रो पटक स्वाब लिनुपरेको छ ।

भारतबाट फर्केपछि कुस्माको पुलिङ्ग क्वारेन्टाईनमा बसिरहेका फलेबास नगरपालिका १० कुर्घाका जीवनाथ शर्माको कोरोना परिक्षणका लागि तेस्रो पटक स्वाब संकलन गरिएको हो ।

भारतको दिल्लीमा रोजगारी गर्दै आउनुभएका शर्मा साउन ७ गते कुस्मा आएपछि होटल बन्दनाको पुलिङ्ग क्वारेन्टाईनमा बस्नु भएको थियो । उहाँको साउन १२ गते पछि तीन दुई पटक सम्म स्वाब लिएपछि रिर्पोट नआएका कारण बिहीबार तेस्रो पटक स्वाब (नमुना ) संकलन गरिएको छ । ‘सबैको रिर्पोट आएर पनि घर पुगेको हप्ता दिन भैसक्यो’ उहाँले भन्नुभयो ‘मेरो दोस्रो पटक पनि रिर्पोट आएन, तेस्रो पटक पनि आउँछ की आउँदैन शंका लागेको छ ’

शर्मासहित ३२ जनाको कोरोना परिक्षणका लागि स्वाब लिइएको थियो तर सबै साथीहरुको रिर्पोट साउन १६ गते बेलुका नै आएपनि उहाँको रिर्पोट आएन । क्षयरोग उपचार केन्द्र पोखरामा पठाइएको स्वाब हराएपछि उहाँको रिर्पोट नआएको हो । पहिले पटक लिएको स्वाब मिस प्लेस भएका कारण नआएको र दोस्रो स्वाब संकलनका क्रममा त्रुटी भएका कारण रिर्पोट नआएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । ‘सबैको रिर्पोट आएपछि उहाँको रिर्पोट नआउँदा प्रदेश प्रयोगशालामा सोधखोज गर्‍यौ।’ कार्यालयका प्रबक्ता प्रबिण भण्डारीले भन्नुभयो ।

पहिलो पटक लिइएको स्वाब हराएपछि दोस्रो पटक साउन २० गते स्वाब लिइएको थियो । स्वाब संकलन गर्ने क्रममा भिटिएमको बिक्रो राम्रो संग नलागेपछि पोखिएका कारण परिक्षण नै हुन नपाएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले बताउनुभयो । ३० जनाको स्वाब लिइएको र १०/१० वटा दरमा प्याकिङ्ग गरेर पठाइएको थियो । २० जनाको रिर्पोट आएपनि एउटा पोकामा रहेको मध्ये जीबनाथ शर्मा र अन्य एक जना सहित २ जनाको भिटिएम पोखिएर १० जनाकै स्वाब मिसिएको पाइएकोले परिक्षण हुन नसकेको उहाँले बताउनुभयो । तेस्रो पटक १० जनाकै स्वाब लिइएको र स्वाब छिटो परिक्षण गर्न अनुरोध गरिएकाले शुक्रबार साँझ सम्म रिर्पोट आइसक्ने बिश्वास डा. गौतमको छ ।

पिडीत शर्मा होटलमा रहेको क्वारेन्टाईनमा बसेका कारण फलेबास नगरपालिकाले खाना खर्च वापतको रकम मात्रै बेर्होछ भने बाँकी कोठा भाडा आफै तिर्नुपर्ने हुन्छ । १५ दिन देखि कोठा भाडा तिर्नुपर्दा आफुँलाई ठुलो आर्थिक नोक्सानी भएको उहाँको भनाई छ । आर्थिक अबस्था कमजोर भएकाहरुलाई बिद्यालयमा बनाइएको क्वारेन्टाईनमा बस्ने ब्यबस्था मिलाइएको छ । फलेबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल होटलमा बस्न गएकाहरुको खर्च नगरपालिकाले बेर्होन नसक्ने बताउनुहुन्छ । ‘जिल्ला संकट ब्यबस्थापन केन्द्रले नै होटलमा बस्नेको खर्च नतिर्ने निर्णय भएकाले हामीले पनि त्यसलाई कार्यान्वयन गर्नुपर्छ।’ उहाँले भन्नुभयो‘ खर्च तिर्न नसक्नेहरुका लागि बिद्यालयमा बस्न भनिएको छ ।’