खानेपानी विवादका कारण बालकको हत्या, १० अभियुक्त पुर्पक्षका लागि थुनामा

0
Shares

राम धामी, डडेल्धुरा ।

डडेलधुराको आलिताल गाउँपालिका–६ मा खानेपानी योजनाका विषयमा भएको विवादका कारण झडप हुँदा एक आठ वर्षीय बालकको मृत्यु भएको मुद्दामा १० जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत डडेल्धुराले आदेश दिएको छ ।

बुधबार शुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत डडेल्धुराका न्यायाधीस हरिप्रसाद शर्मा उपाध्यायको इजलासले प्रतिवादी कुल १३ जनामध्ये तीन नाबालिगलाई चाहेका बेला पेश गर्न सकिनेगरि अभिभावकको जिम्मा लगाउने र बाँकी १० जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

अभियुक्तहरु ५५ वर्षीय निरु भन्ने निरबहादुर ओली, ३३ वर्षीय हरिकृष्ण भाट, ४८ वर्षीय पम्फा ओली, २९ वर्षीय अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीय रिमा ओली, ३१ वर्षीय पवित्रा ओली, ३० वर्षीय टीकाराम ओली लगायत १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

आलिताल गाँउपालिका– ६ मा रहेका दुई गाँउबिच लामो समयको खानेपानी विवादले उग्र रुप लिएपछि झपडका क्रममा गत असार २६ गते भौना गाँउका आठ बर्षीय बालक हिमांसु महराको हत्या भएको हो । मदिराले लठ्ठिएर गएका अभियुक्तहरुले घर घेराउगरि कुटपिट गरेर आफ्नो आठ बर्षीय छोराको हत्या गरेको भन्दै मृतक बालकका बुबा गणेशबहादुर महराले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धानगरि १३ जनाबिरुद्ध जानी जानी कुनै काम गरि ज्यान मारेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

गाँउलेहरुबीच खानेपानीको विवादका क्रममा झड्प भएपछि मृतक बालक ढुंगाले अनुहारमा चोट लागेर गम्भीर घाइते भएका थिए । गम्भीर घाईते उनलाई झडप भएकै राती धनगढी अस्पताल पुगाइएको थियो । उनको गत असार २७ गते बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

यस्तो थियो विवाद

आलिताल गाउँपालिका–६ मा दुई गाउँ भौना गाउँ र मेलखाली गाउँबीच वर्षौंदेखि खानेपानीको विवाद थियो । मेलखाली गाउँवासीले २०४१ सालदेखि भौना गाउँवासीले प्रयोग गर्दै आइरहेको खानेपानी आफ्नो गाउँ लग्न खोजेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि १७ परिवार रहेका भौना गाउँवासीले त्यसको विरोध गरेका थिए । १४ घरधुरी रहेको मेलखाली गाउँवासीले षड्यन्त्रपूर्वक खानेपानी आफ्नो गाउँ लैजान लागेको भौना गाँउका बासिन्दाहरुले थाहा पाए । वडाबाट बजेट हालेर निर्माण हुन लागेको खानेपानी आयोजनाको उपभोक्ता समितिमा भौना गाउँवासी हरिकृष्ण भाट पनि थिए ।

‘वषौंदेखि हामीले प्रयोग गरिरहेको खानेपानी लिफ्टिङ गरेर माथि रहेको मेलखालीमा लैजान लागेपछि विरोध गरेका थियौं,’ मृतक बालकका बाबु गणेशबहादुर महराले भने, ‘सोही विवादलाई लिएर हरिकृष्ण भाटकै नेतृत्वमा मेलखालीवासीहरु लठ्ठी बोकेर घरमा पुगेर आक्रमणमा उत्रिएका हुन ।’ आक्रमणका क्रममा मृतक बालकका आमा बुबा दुबै गम्भीर घाईते भएका थिए ।

थुनछेक बहसका क्रममा बादी नेपाल सरकारका पक्षबाट सरकारी वकिल कार्यालय डडेल्धुराका सरकारी वकिल प्रकाश भण्डारी र अधिवक्ता लालबहादुर जाग्रीले बहस गरेका थिए भने प्रतिवादीहरुका तर्फबाट अधिवक्ताद्वय विष्णु भट्ट र हरिप्रसाद भट्टले वकालत गरेका थिए ।

जाहेरीवाला मृतक बालकका बाबु गणेशबहादुर महराले कर्तब्य ज्यान मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालयलाई सुझाव पेश गरेका सरकारी वकिल भण्डारीले थुनछेक बहसका क्रममा भवितब्य घटना भएको बहस गर्न थालेपछि सरकारी वकिल भण्डारीको पेशागत निष्ठामाथि आशंका उत्पन्न भएको बताए ।

प्रहरीले पेश गरेको मिसिल र प्रमाणहरु एकातिर हुने तर सरकारी वकिलको बहस अर्कोतिर गइरहेकाले अधिवक्ता जाग्रीलाई बहसका लागि आग्रह गरिएको मृतकका आफन्तहरुले बताए । अत्यान्तै अमानवीय क्रुर हत्याकाण्डका रुपमा परिचित सो मुद्दाका अभियुक्तहरुलाई जोगाउन केहि जिल्लास्तरीय राजनीतिकर्मीहरु सकृय थिए । “प्रहरीलाई पनि निकै दबाब आईरहेको थियो,” अनुसन्धानमा संलग्न एक प्रहरीकर्मी भन्छन, “तर, हामीले कुनै दबाबको प्रवाह नगरेर सुक्ष्म अनुसन्धानगर्दै प्राप्त प्रमाणका आधारमा मुद्दा दर्ता गरेका हौं ।”