राजस्वमा कोरोना प्रभाव: ट्राफिकको राजस्व ३० लाखले घट्यो

0
Shares

गणेश घिमिरे, इलाम
लामो लकडाउनका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजस्व संकलन ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा भन्दा आर्थिक वर्ष २०७६/७७ मा राजस्व संकलन ३० लाख १५ हजार रुपियाँले घटेको छ ।

अघिल्लो आवमा ट्राफिक कार्यालय इलामले १३ हजार ६ सय १० वटा सवारी साधनलाई कारबाही गर्दा ८० लाख १४ हजार रुपियाँ राजस्व संकलन गरेकोमा गत आर्थिक वर्षमा ८ हजार ७ सय १५ वटा सवारी साधनलाई कारबाही गर्दा ४९ लाख ९९ हजार रुपियाँ राजस्व संकलन गरेको छ । यसरी हेर्दा अघिल्लो आवको तुलनामा गत आवमा ४ हजार ८ सय ९५ वटा कम सवारी साधनलाई कारबाही गर्दा ३० लाख १५ हजार रुपियाँले राजस्व घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको तथ्यांकमा उल्लेख छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेर ट्राफिकले राजस्व संकलन गर्ने गरेको छ ।

गत आवमा ट्राफिक प्रहरीले १ सय १८ वटा बस, १२ सय १८ वटा ट्रक, ३४ सय ८७ वटा जिप÷कार÷भ्यान, ३२ सय ८६ वटा मोटरसाइकल, ४ सय ५५ वटा टयाक्टर र टेम्पोलगायत ८३ वटा सवारी साधनलाई कारबाही गरेको थियो । कार्यालयको तथ्यांक अनुसार गत आवमा जिल्लामा जम्मा २१ वटा सवारी दुर्घटना भएको छ । जसमा सबैभन्दा बढी मोटरसाईकल दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी गत आवमा ९ जनाको मृत्यु भएको छ भने ९ जना सामान्य घाइते र ९ जना गम्भीर घाइते भएको तथ्यांकले देखाएको छ । ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुईवटा ब्रेथएनलाइजर मेसिन र २ वटा मोटरसाइकल बाहेक अन्य केही छैन । जसकारण सोचे अनुसार काम गर्न सकेको छैन । जिल्लामा ट्राफिक प्रहरीको दरबन्दी ९ जनाको भए पनि हाल २० जना कार्यरत छन् ।