सेनाद्वारा गुप्तेश्वर महादेव र झरना पुग्न पूर्वाधार निर्माण (फोटोसहित)

94
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली सेनाको सामाजिक, आर्थिक, पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विष्णु दल गण धुलिखेल मार्फत जिल्लाको तेमाल गाउँपालिकाको वडा नम्वर ७ मा गुप्तेश्वर महादेव मन्दिर क्षेत्र परिसर ३ किमी सडकमा साईकल लेन निर्माण, ढुंगा विछ्याउने, सिंढी निर्माण, रेलिङ्ग सहित सोलार बत्ति जडान गरिएको छ ।

‘गुप्तेश्वर महादेवसँगै त्यहाँ रहेको झरनाले पर्यटकहरुलाई आर्कषक गर्न सक्ने भएकाले सदरमुकामसम्म आउनु भएका पर्यटकहरुको बसाई लम्याउन तथा ग्रामिण क्षेत्रको विकासका लागि पर्यटन मार्फत थप टेवा पुर्‍याउने उदेश्यले उक्त स्थानमा निर्माणको कार्य गरिएको हो’–विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुबास खड्काले भन्नुभयो–‘नेपाली सेनाले नागरिक र सेना बीचको सम्वन्ध स्थापित गर्ने अभिप्रायले तेमाल गाउँपालिकाको सहकार्यमा नेपाली सेनाकै बजेटमा उक्त क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले उक्त क्षेत्रमा पूर्वाधार निर्माण गरिएको हो ।’ पर्यटन वर्षको पुर्व सन्ध्यामा निर्माण शुरु गरिएको उक्त क्षेत्रलाई पर्यटन वर्षकै अवसरमा प्रचार प्रसार गर्ने तयारी गरिएको थियो । कोरोना भाईरसका कारण पर्यटन वर्ष स्थगित गरिए पनि निर्माण कार्य भने निरन्तर गरिरहेकाले सम्पन्न भएको उहाँले बताउनु भयो । १७ लाख ६४ हजार ८ सय रुपैयामा उक्त क्षेत्रको पूर्वाधार निर्माण गरिएको छ ।

शुक्रबार विष्णु दल गणको आयोजनामा उक्त क्षेत्रमा भएको पूर्वाधार निर्माणको जिम्मेवारी तेमाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको मध्यपुर्वी पृतनाका पृतनापति उपरथी सुरेशकुमार कार्कीले तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं लामालाई निर्माण गरिएका पूर्वाधारहरु गाउँपालिकाले रेखदेख र ब्यवस्थापन गर्ने गरी हस्तान्तरण गर्नु भएको छ । साथै कार्की र लामाले उक्त क्षेत्र जाने सूचना पार्टी र शिलालेखको अनावरण गर्नु भएको थियो । रोशी गाउँपालिकाको मंगलटारबाट कलधार हुँदै गुप्तेश्वर महादेव पुग्न सकिन्छ । कलधारबाट ३ किलोमिटर यात्रा गरे पछि खोचमा गुप्तेश्वर महादेवको मन्दिर छ । मन्दिरसँग बगिरहेको झरनाले आर्कषक बनाउँछ ।

महादेवको मन्दिर रहेको खोचमा देखिएका कलात्मक शैलीको पहराले झनै आकर्षण बनाउनेछ । पर्यटकहरुलाई प्राकृतिक रुपमा बनेको झरना देखाउने र त्यसबाट त्यस क्षेत्रको आर्थिक विकासका लागि थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष सलामसिं लामाले बताउनु भयो । पृतनापति कार्कीले नेपाली सेनाले नागरिकहरु प्रति पुरा गर्नु पर्ने उत्तरदायित्व पुरा गरेको बताउनु भयो ।

कार्यक्रममा २६ नम्वर बाहिनी अड्डाका बाहिनीपति विष्णु राउत, विष्णु दल गण धुलिखेलका गणपति सुवास खड्का, गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, वडा नम्वर ७ का अध्यक्ष ज्ञानबहादुर तामाङ लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।