सलहले खाद्यबाली नष्ट गरेपछि मर्कामा किसान, क्षतिपूर्तिको माग (फोटोसहित)

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

देशैभर प्रकोपका रुपमा फैलिएको सलह किराले खाद्यान्न बाली खाएपछि किसानहरु मर्कामा परेका छन् । वर्षे सिजनमा खेत तथा बारीमा लगाएको मकै, कोदो, सिमी, भटमास, धान लगायतका खाद्यान्न बालीनाली सलहले खाने र नष्ट गर्न थालेपछि किसान समस्यामा परेका हुन् ।

यसपटक हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा सलह किराको प्रकोप बाक्लो रुपमा देखिएको छ । सलह किराको प्रकोपका कारण बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटीमा मात्रै २१ जना किसानहरुको खाद्यान्न बालीनाली नष्ट गरेको छ । चिप्लेटीको पयँपाट, काउले र चिप्लेटी टोलमा विभिन्न किसानको खाद्यान्न बाली नष्ट गरेको किसानहरुले गुनासो गरेका छन् ।

सलहले सबैभन्दा धेरै काउलेका डेकबहादुर कार्कीले बारीमा लगाएको मकै खेतीमा धेरै क्षति पुर्‍याएको छ । उनले विश्वभर फैलिएको कोरोनाले आक्रान्त पारेको अवस्थामा सलहले मकै खेती खाएपछि समस्या भएको गुनासो गरे । धानखेती भन्दापनि मकै खेतीको धेरै आश गरेको समयमा सलह किराले मकै बाली सखाप पारेपछि जहान, केटाकेटी पाल्न समस्या हुने दुःखेसो पोखे ।

चिप्लेटीका अर्का किसान रामबहादुर कार्कीले पनि १ रोपनीमा लगाएको मकैखेती सलहले खाइदिएको गुनासो गरेका छन् । पश्चिम भेगबाट आएको सलह किराको बथानले मकैखेती नष्ट गरेको भन्दै उनले थाल बजाएर र आगो सल्काएर लखेट्दा पनि सलह नभागेको उनको भनाइ छ ।

यसैगरी चिप्लेटी पयँपाटकै किसान सुमन कुँबरको पनि ३ रोपनीको खेतबारीमा लगाएको मकै, कोदो र धानखेती सलहले खाइदिएको छ । चिप्लेटीमा २१ जना किसानको २४ रोपनीको जग्गामा लगाएको खाद्यान्न बालीमा सलहले प्रत्यक्ष रुपमा क्षति पुर्‍याएको हो । सलहले क्षति पुर्‍याएपछि टोल विकास समितिका अध्यक्ष भोजबहादुर कार्कीको अध्यक्षतामा वैठक बसेर स्थलगत अनुगमन गरी आवश्यक क्षतिपूर्ति माग गर्ने निर्णय गरी कृषि ज्ञान केन्द्र म्याग्दी र बेनी नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाइएको स्थानीय कृषक गणेशबहादुर कार्कीले जानकारी दिए ।

जिल्लाको बेनी नगरपालिकासहित ६ वटै स्थानीय तहमा सलह किराले वर्षे सिजनमा लगाएको मकैबाली, धानखेतीलगायत तरकारी बालीमा क्षति पुर्‍याएको छ । पुलाचौरको भीरमुनी, अवेचौर र अर्थुङ्गेको एकपाटेमा समेत सलहले खाद्यान्न बाली सपाख पारेको किसानहरुले बताएका छन् ।

सलह धानलगायत बालीको विनाश गर्ने एक जातको पतङ्ग, बालीनाली र बोटविरुवाको पातै समेत खाएर नाङ्गो पार्ने फट्याङ्ग्रा जस्तो उडुवा किरा हो । यसले एक वर्ग किलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको सङ्ख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्दछ ।