पर्सामा मात्रै कोरोनाबाट १३ जनाको मृत्यु, वीरगन्ज महानगरका मेयर पनि संक्रमित

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । 

वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुषको बिहीबार राति ११ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरेका हुन्। उनी , वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत ) हुन्। मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई कोभिड अस्पतालको आसीयूमा राखिएको थियो। तर बिहीबार दिउँसो अवस्था झन जटील भएपछि उनलाई भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका बिहीबार राति साढे ११ बजे मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए।वीरगन्जमै बिहीबार नै कोरोना संक्रमित अरु २ जनाको पनि मृत्यु भएको थियो। बिहीबार एकै दिन ३ जना संक्रमितको मृत्यु भएसँगै वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ।

यसैबीच वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य परीक्षणका लागि काठमाडौं पुग्नु भएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उहाँ आफैले दिनुभएको छ । ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उहाँले भन्नुभयो, ‘काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’

कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उहाँले बताउनुभयो । वीरगन्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आउनु भएको थियो । उहाँले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था मिलाउदै आउनु भएको थियो ।