लकडाउनमा पूर्वाधार विकास कार्यालयको प्रगति ८० प्रतिशत


न्युज अफ नेपाल, पर्वत । 

चार महिना लामो लक डाउनका बिचमा पनि पुर्वाधार बिकास कार्यालय पर्वतले ८० प्रतिशत प्रगति हासिल गरेको छ ।
आर्थिक बर्ष २०७६/०७७ मा कार्यालयले प्रदेश र संघीय सरकारको बजेट तर्फको बजेट ८० दशमलब २९ प्रतिशत प्रगति शासिल गरेको हो । यो प्रगति गण्डकी प्रदेशकै सबैभन्दा बढी हो ।

पुर्वाधार बिकास कार्यालयले दिएको जानकारी अनुसार प्रदेश सरकार तर्फको बार्षिक बजेट १ अर्ब ६२ करोड ६४ लाख मध्ये १ अर्ब ३८ करोड ९३ लाख रुपैंया खर्च भएको छ । यो खर्च बार्षिक बजेटको ८५ दशमलब ४२ प्रतिशत हुन आँउछ ।संघीय सरकार तर्फको बजेटको खर्च भने कम भएको छ । बार्षिक बजेट २९ करोड ११ लाख मध्ये १५ करोड २ लाख मात्रै खर्च भएको छ । यो खर्च बार्षिक बजेटको ५१ दशमलब ६२ प्रतिशत हुन आउँछ ।

पुर्वाधार बिकास कार्यालयले पर्वत र बागलुङ्गमा सडक, पुल, झोलुङ्गे पुल जस्ता पुर्वाधार निर्माणका काम गर्दछ । झण्डै चार महिना लामो लक डाउनका बिचमा पनि ८० प्रतिशत भन्दा बढी भौतिक प्रगति गर्न सकेको कार्यालय प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर दयाराम अधिकारीले बताउनुभयो । ‘लक डाउन नभएको अबस्थामा हामीले ९० प्रतिशत भन्दा बढी प्रगति गर्न सक्थ्यौ।’ उहाँले भन्नुभयो ‘लक डाउनका कारण कालोपत्रे गर्न ठिक्क परेका सडकहरु कामदार हिडेपछि पुरा हुन पाएन जसले गर्दा प्रगति अझै बढाउन सकिएन।’ ४७ किलोमिटर कालोपत्रे, पिसिसी र आरसिसी सडक बनाउने लक्ष्य राखिएकोमा ८ दशमलब ६ किलोमिटर मात्रै सम्पन्न भएको छ । लक डाउन नभएको अबस्थामा सबै सडक कालोपत्रे गर्न तयारी अबस्थामा थियो ।

कार्यालयका सुचना अधिकारी तथा लेखाप्रमुख गौरबदास बैरागीले दिएको जानकारी अनुसार गएको आर्थिक बर्ष २०७६/७७ मा १ सय ४७ आयोजना मध्ये १ सय २८ वटाको बोलपत्र आब्हान गरिएको र १ सय ५ वटा त सम्झौता नै भैसकेका छन । सडक पुल मध्ये ३ वटा पुल सम्पन्न भैसकेको छ भने ७ वटा पुलको बोलपत्र आब्हान गरि सम्झौता समेत भएको छ । २४ वटा झोलुङ्गे पुल मध्ये ११ वटाको मात्रै सम्झौता भएको छ। यस आबमा ४० किलोमिटर भन्दा बढी ग्राभेल सडक बनेको छ । ३१ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्रयाक खोलिएको छ भने ४१ किलोमिटर नाली बनाइएको छ भने १ सय ३३ वटा कजवे र कल्र्भट निर्माण गरिएको छ । ‘लक डाउनको शुरुमा कामदारहरु बाहिर पठाएका कारण धेरै कामहरु अन्तिम अबस्थामा रोकिन पुगेका थिए।’ सुचना अधिकारी बैरागीले भन्नुभयो‘तर पनि केही सडकहरुमा लक डाउनको अबधीमा पनि निरन्तर काम गर्न सफल भयौ।’