रक्तसञ्चार सेवाको ५५ औँ स्थापना दिवस


न्युज अफ नेपाल, काठमाण्डौं ।

नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र स्थापनाको ५४ औँ बर्ष पूरा भएको अवसरमा कोभिड १९को महामारीको अवस्थामा सेवा स्थापना दिवस विभिन्न स्थानमा भीड नगरी फरक तरिकाले कार्यक्रम मनायो ।

केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा बार्षिक प्रतिबेदन सार्वजनिक गरियो । त्यस्तै, बकुलहर, रत्ननगर अस्पताल चितवनमा आजै एक कार्यक्रम बीच आकस्मिक रक्तसञ्चार सेवा सुरु गरिएको छ । नेपालगञ्जमा सञ्चार गृहको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै कोहलपुरमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७६/०७७ मा दुई लाख ३८ हजार आठ सय ३६ यूनिट रगत संकलन भई तीन लाख २१ हजार सात सय ७६ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराईएको छ । आज प्रकाशित प्रतिवेदनमार्फत् यो जानकारी दिईएको हो । देशभरीमा विभिन्न संघ–संस्थाहरूबाट ३,४७८ वटा घुम्ती रक्त संकलन गरिएको छ भने केन्द्रीय रक्त सञ्चार सेवाबाट मात्रै ३९,७५५ यूनिट रक्त संकलन गरिएको छ ।

५४ बर्ष अघि अर्थात् २०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो । अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत् रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ । काठमाडौंको केन्द्रीय रक्तसञ्चार सेवाको लगायत विराटनगर, पोखरा, नेपालगंज र चितवन गरी ४ वटा क्षेत्रीय रक्त सञ्चार सेवा २२ वटा जिल्लास्तरीय इकाई, ४७ जिल्लाका आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालका रक्त सञ्चार सेवा एकाइबाट अहिले रक्त सञ्चार सेवा सञ्चालनमा छ ।

स्थापना दिवसको अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डाक्टर मनिता राजकर्णिकारले भन्नुभयो ः रक्तदाताहरु र संघसंस्थाको सहयोगप्रति आज म आभार व्यक्त गर्न चाहान्छु । हाल विश्वभर फैलिएको कोभिड १९ संक्रमणले रक्तसञ्चार सेवा प्रभावित भएपनि रक्तदाता र रक्तसंचार सेवा सँग सम्वद्ध संघसंस्थाको सहयोगमा संक्रमण जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिँदै आएको छ र क्रमशः संक्रमण पहिलेको अवस्थामा हामी गइरहेका छौँ ।

महिला रक्तदातामा बृद्धि तर संख्या अझै सानो

गत आ.व. २०७५र०७६ मा नेपालभर जम्मा २,७१,९२२ यूनिट रगत संकलन भएकोमा यस बर्ष कोभिडको कारणले केही प्रतिशत रक्तदाता घटे पनि महिला रक्तदाताको सँख्या बढेको छ । गतबर्ष कूल रक्तदाता महिलाको संख्या १६.१ प्रतिशत रहेकोमा यसपटक १७.५ प्रतिशत पुगेको छ । तर, यो संख्या अझै बढ्नुपर्ने देखिन्छ ।

नेपालभरी संकलित रगत समूहको विश्लेषण गर्दा पोजेटिभ समूहको रगत ९६.७० प्रतिशत र नेगेटिभ समूहको रगत ३.३० प्रतिशत रहेको छ । पोजेटिभ तर्फ ए समूहको सबैभन्दा बढी अर्थात् २८.१२ प्रतिशत देखिन्छ भने सबैभन्दा कम एबी समुहको ११.६७ प्रतिशत । त्यस्तै सबैभन्दा दुर्लभ रक्तसमूह एबी नेगेटिभ हो जुन नेपालमा ०.४७ प्रतिशत छ ।

नेपाल सरकार राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला, राष्ट्रिय रक्तसञ्चार व्यूरो, ग्लोबल एडभाइजरी प्यानल, जापनीज रेडक्रस, थाई रेडक्रस तथा आई.एफ.आर.सी.लगायत रक्तदाता उत्प्रेरणा तथा रक्तसंकलन कार्यमा सहयोग दिनुहुने ब्लड डोनर्स एसोसिएसन नेपाल तथा यसमा आवद्ध संस्थाहरु, स्वयंसेवी रक्तदाता समाज तथा यसमा आवद्ध संस्थाहरु, नियमित रक्तसंकलन शिविर सञ्चालक र कार्यक्रम आयोजकहरु पशुपति मारवाडी सेवा संघ, गणेशमान सिं अध्ययन प्रतिष्ठान, फ्रेण्डस अफ आर.एच. नेगेटिभ, हाम्रो लाईफ बैंक, दीर्घायु अस्पताल र नेपाल रेडक्रस सोासइटीका सम्पूर्ण शाखा तथा उपशाखाहरु लगायत सम्पूर्ण रक्तदाताहरुमा नेपाल रेडक्रस हार्दिक आभार व्यक्त गर्दछ ।