रहेनन् उस्ताद जोशी


हेटौंडा, (नेस)। आफ्नो सम्पूर्ण जीवन नै संगीतमा समर्पण गरेका हेटौंडाका बयोवृद्ध संगीतकार उस्ताद भोला जोशीको भौतिक शरीर अब रहेन। उनको आइतबार करिब ७८ वर्षको उमेरमा हेटौंडा–९ सिमेन्टरोडस्थित निवासमा निधन भएको हो। उनको सोही वडास्थित त्रिवेणीधाममा अन्त्येष्टि गरिएको छ। वृद्धावस्थामा पनि उनका औंलाहरू हार्मोनियमका रिडमै नाचिरहेका हुन्थे।

ललितपुरको बल्खु, क्वाको टोलमा १९९९ असार १२ गते जन्मिएर मकवानपुरलाई कर्मथलो बनाएका जोशी यस्तो उमेरमा पनि संगीतको सेवा भनेपछि भुतुक्कै हुन्थे। २०२४ सालमा नव कलाकुञ्जको निम्तोमा हेटौंडा आइपुगेका जोशी त्यसपछि कहिल्यै आफ्नो जन्मथलो फर्किन मन गरेनन्। उनले भनेका थिए– ‘मलाई मकवानपुरमै केही गरौं भन्ने लाग्यो, त्यसैले ललितपुर फर्किनँ।’

दर्जनौं गीतमा संगीत भरेका जोशीका संगीतमा फत्तेमानदेखि राजेशपायल राईसम्मले स्वर आजमाएका छन्। यति मात्र होइन, उनका चेलाहरू चण्डी काफ्ले, चेतन सापकोटा, शिखर सन्तोषलगायत सबैले नाम कमाएका छन्। उनी आफ्ना अनुजहरूको प्रगतिमा सन्तुष्ट थिए। उनका औंलाहरू हार्मोनियममा नचाउँदानचाउँदै काप्थे। हिँड्न लागे खुट्टाहरू लर्बराउँथे। उनलाई खुट्टाको समस्याले च्यापेको थियो।

कसैले सांगीतिक कार्यक्रममा निम्तो दिए पनि उनलाई त्यहाँसम्म पुग्न निकै गाह्रो हुन्थ्यो। उठेदेखि नसुतेसम्म औषधि साथमा राख्नुपर्ने अवस्थाका उनलाई आर्थिक अभावका कारण औषधिको जोहो गर्न धौ–धौ थियो। आजीवन औषधि खानुपर्ने अवस्थामा रहेका उनलाई सबै औषधि किन्न मासिक ६ हजार जति खर्च हुने गरेको थियो। ‘म बरु दिनमा एक छाक खान्छु तर संगीतबिना बस्न सक्दिनँ’, जोशीले भनेको स्मरण गर्दै नाटककार÷निर्देशक उज्ज्वल शर्मा भण्डारीले भने– ‘उनी स्वस्थ्य भएर संगीतको सेवा गर्न चाहन्थे। उस्ताद जोशी रोग, परिस्थिति र समयसँग संघर्षरत् थिए।’

उनीद्वारा संगीतबद्ध बिस्र्यो क्यार खाएको कसममा लोचन भट्टराईले, बिषलाई पिएर पनि हासिरहेछुमा फत्तेमानले र जुनमाया मैले तिमीलाई दिएथेंमा राजेशपायलले स्वर भरेका छन्। आफूद्वारा संगीतबद्ध देशमा चर्चित करिब तीस गीत सबै उनलाई याद थिएन। २०३७ सालमा हे मेरा मित्रहरू गीतमा संगीत भरेर संगीत सेवामा लागेका उनलाई रेडियो नेपालमा गीत रेकर्ड गराउन त्यस बेला साह्रै अप्ठेरो प¥यो।

संगीत निर्देशकलाई गीतसंगीत सुनाएपछि ‘माथिको आदेश लिएर’ मात्र गीत रेकर्ड गराउनुपर्ने बाध्यता सुनाउँदै उनले गुनासो गर्ने गरेको भण्डारीले सुनाए। उनले गीत कम्पोज गरेबापत तोकेर पारिश्रमिक लिएनन् कसैले गुरुले गरेको मेहनत भनेर दुई÷चार सय रुपियाँ दिए भने उनी हात थाप्थे। ‘कम्पोज गरेबापतको पैसा कोहीबाट उनले लिएका थिएनन्। उनले आफ्नो संगीतप्रतिको सेवा निःस्वार्थ ढंगले अगाडि बढाएका थिए।’ –निर्देशक भण्डारीले थपे।

तत्कालीन अवस्थामा सुशीला पाण्डे, नरमाया थापा, द्वारिकालाल जोशी र राम गुरुङसँग संगीत क्षेत्रमा बिताएका रमाइला पलहरू जोशी खुब सम्झन्थे। २०२१ सालमा सुशीला पाण्डेले उनीद्वारा संगीतबद्ध गीत गाएर नारायणी अञ्चलस्तरीय प्रतियोगितामा पहिलो भएको र पछि उनको गीत रेडियो नेपालमा रेकर्ड गराइएको थियो। त्यही बेला राष्ट्रिय नाचघरमा १ सय रुपियाँ टिकट दर तोकेर सांगीतिक कार्यक्रम देखाइन्थ्यो।

नरमाया थापा हेटौंडा अस्पतालकी नर्स थिइन्। सुरिलो स्वरकी धनी नरमायालाई काठमाडौं लगेर उनैले रेडियोमा गीत रेकर्ड गराएका थिए। सांगीतिक कार्यक्रमहरू लिएर उनी हेटौंडाबाट वीरगन्ज, काठमाडौं र पोखरासम्म पुगे। विदेशको यात्रा भने उनको संगीतसँग बितेन। उनको योगदानको उच्च कदर गर्दै मकवानपुर कलिउड कला केन्द्र, नेपाल भाषा खलः, कोल्गेट जेल, मकवानपुर प्रतिभा सम्मान, तरंग सांस्कृतिक परिषद् सम्मान, सांस्कृतिक जागरण अभियान कीर्तिपुरद्वारा सम्मान, भीमविराग साहित्य कला प्रतिष्ठानद्वारा सम्मान र मकवानपुर उद्योग वाणिज्य संघलगायत संघ–संस्थाले उनलाई सम्मान गरेका थिए।

संगीत सम्बद्ध कुनै संघ–संस्थासँग प्रत्यक्ष सम्बद्ध नरहेका जोशी र स्व. भीम विरागबीच निकट सम्बन्ध थियो। उनीहरू दाजुभाइजस्तै थिए। तत्कालीन कार्यक्षेत्र फरक भए पनि केही समयपछि दुवै जना सँगै संगीत क्षेत्रमा रमाउन थालेका थिए। छोराको जागिरले जेनतेन घर चलाउँदै आएका जोशीलाई यहाँका युवागायक महासत्व बज्राचार्यले बेला–बेलामा सहयोग गर्ने गरेका थिए।

उनले जोशीलाई आवश्यक औषधि किनेर घर पु¥याई सहयोग गरेका थिए। अन्य बेला विभिन्न प्रशिक्षण केन्द्रमा पुगेर संगीत सिकाउने जोशी घरमै कोही प्रशिक्षार्थी आएमात्र तबला र हार्मोनियम जस्ता संगीतसाधान सिकाउने गर्दथे। २०३१ सालताका एसएलसी टेस्ट सकिएपछि संगीत र रेकर्डमा दौडादौड गर्दागर्दै उनी त्यतैतर्फ व्यस्त रहेकाले एसएलसी दिन पाएनन्। एसएलसी नदिए पनि उनले संगीतलाई विकास गर्न देन दिँदै आएका थिए।