लकडाउन पछिको शहर


सरकारले चार महिना लामो लकडान अन्त्य भएको घोषणा गरेसँगै राजधानी काठमाडौंलगायतका देशका शहरहरु पुरानै अवस्थामा फर्किएका छन् । देशभर नागरिकहरुको चहलपहल बढेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै शहरी क्षेत्रमा दैनिक रुपमा कोरोना संक्रमित थपिएका छन् । देशभर हालसम्म १८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

सधैभरि लकडाउन कोरोना नियन्त्रणको विकल्प पनि थिएन । तर कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि भने अहिले पर्याप्त सुरक्षा उपायहरु अपनाउनुभने आवश्यक थियो । सरकारले सामाजिक दूरी कायम गर्न आग्रह गरेपनि शहर बजारमा भिडामभिड सुरु भइसकेको छ भने सार्वजनिक यायातामा पनि भिड बढेको छ ।

चार महिनाको अवधिमा लकडानको कारण राज्यलाई ठूलो घाटा भएको कसैबाट लुकेको छैन तर पर्याप्त सुरक्षा सावधानी विना नै सरकारले लकडाउन खुला गर्ने निर्णयले झन कोरोना संक्रमणको त्रास बढेको छ । मास्क नलगाउने सामाजिक दूरी कायम नगर्ने, भिडभाड गर्ने काम अहिले सर्वत्र सुरु भएको छ । सरकारले

नागरिकहरुलाई सुसूचित गराउँदागराउँदै पनि जनस्तरबाट लकडाउनको उल्लघंन हुने क्रम पनि बढेको छ । सीमा नाकालाई व्यवस्थित गर्न नसक्दा नेपालमा संक्रमितको संख्या थप वृद्धि हुँदै गएको छ । अहिले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णयले थप जोखिम बढाउने खतरा रहेको छ । सीमा नाकामा राम्रो व्यवस्थापन नगरी देशभित्र मात्र लकडाउन कडा गर्नुको विकल्प छैन ।

लकडाउन भएको सुरुको दुई महिनाको अवधिमा नेपालमा संक्रमित देखा परेनन् । जब रोजगारीका लागि भारतमा रहेका नेपालीहरु स्वदेश फर्कनेक्रम बढ्यो तब संक्रमितको संख्या पनि ह्वात्तै बढ्न पुग्यो । संक्रमण बढ्नुको मुख्य कारण सीमा नाकाहरुको व्यवस्थापन गर्न नसक्नु नै हो । विगतमा पनि सीमा नाकालाई प्रभावकारी बनाएर स्वदेशभित्र कलकारखाना र उद्योगधन्दा सञ्चालन गर्ने काम गरेको भए देशले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने थिएन ।

सरकारले एकमुष्ट रुपमा लकडाउन गर्दा कोरानाको प्रभाव नपरेको क्षेत्रको पनि अर्थतन्त्र चलायमान हुन सकेन । लकडाउन किन घोषणा गरिएको थियो किन अन्त्य गरियो नागकिररुले चित्तबुझ्दो जवाफ पाउन सकेका छैनन् । जति नै कडा लकडाउन गरेपनि संक्रमितको संख्या बढ्ने क्रम रोकिएन । अहिले सरकारले पिसिआर परीक्षण कम गरेर दैनिक रुपमा संक्रमितको संख्या कम देखाइरहेको छ । सरकारले गम्भीरताको साथ पिसिआर रिपोर्टको परीक्षण गर्ने दायरालाई बनाउनुको विकल्प छैन ।

नागरिकहरुले पनि आफू र आफ्नो परिवारको लागि थप सचेत भएर सुरक्षा सतर्कता अनपाउन जरुरी छ । सरकारले लागू गरेको नियम पालना गर्नु आफ्नो दायित्व र कर्तव्य ठान्नु पर्छ । कोरोना आफै घर जाँदैन स्वयम् व्यक्तिको असावधानीले घरमा जाने हो । त्यसकारण सरकारले गर्नुपर्ने दायित्व पूरा गर्ने र नागरिकहरुले पनि आफ्नो कर्तव्य पालना गरेको अवस्थामा कोरोनाको जोखिम कम हुने निश्चित छ ।

तर, अब राज्यले लकडाउन हटाइसकेको अवस्थामा जनता आफैले आफ्नो सुरक्षामा सतर्क रहनुको विकल्प छैन । लकडाउनपछिको शहरी क्षेत्रमा देखिएका दृश्यहरु साँच्चिकै चिन्ताजनक छन्, यसमा सुधार ल्याउन हामी आफै सक्रिय हुनु आवश्यक छ ।